फिल्ममा प्रवेश गर्ने हरेक कलाकारको इच्छा/चाहना हुन्छ सोलो हिरो/हिरोइनमा चल्ने । कतिको यो महत्वकांक्षी सपना पूरा हुन्छ त कतिको अधुरै रहन्छ । सोलो हिरो/हिरोइनमा चल्न कल्पना गरेजस्तो सजिलो छैन । फिल्म नै आफ्नो काँधमा बोकेर हिँड्नु पर्ने चुनौती हुन्छ । फिल्म सफल भए क्रेडिट पाइन्छ नभए 'हातमा लाग्यो शून्य' ।
नेपालमा सोलो हिरोको रुपमा विभिन्न कालखण्डमा धेरै हिरोहरु चले । कुनै समय राजेश हमाल र भुवन केसीले सोलो हिरोको रुपमा फिल्म चलाएर देखाए । अहिले अनमोल केसी र प्रदीप खड्काले आफ्नो स्टारडमको भरमा फिल्म चलाइरहेका छन् । यसकारण पनि उनीहरुमाथि निर्माता लाखौं लगानी गर्न तयार हुन्छन् ।
तर, कुनै अभिनेत्रीमाथि लगानी गर्न भने निर्माताहरु तयार भएको देखिँदैन । उनीहरुलाई लाग्छ, हिरोइनको भरमा फिल्म चल्दैन । यो यथार्थलाई नकार्न पनि सकिन्न । अभिनेत्री रेखा थापापछि नेपाली फिल्ममा हिरोइनहरुले आफ्नै बलबुतोमा फिल्म चलाएको उदाहरण भेट्न मुश्किल छ । यसका कारणहरु विभिन्न हुनसक्छन् ।
पहिलो त हिरोइनहरु आफैं फिल्म राम्रो छान्नेभन्दा पैसा बढी खोज्नमा कसरत गर्छन् । चाहे फिल्ममा 'सोपिस' नै किन हुनु नपरोस् ! अपवाद बाहेक अहिलेका अधिकांश चलेका हिरोइनहरुले चालेको र हिँडेको बाटो यही हो । पैसाको तौल राम्रो भए उनीहरु न चरित्र न त टिम नै हेर्छन् । बस, पैसाले सन्तुष्ट हुन पाए पुग्यो ।
 (2)(1).jpg)
दुई हप्ता अगाडि प्रदर्शनमा आएको फिल्म 'चौका दाउ' पछि अभिनेत्री वर्षा राउतमाथि पनि ठूलो आरोप लागेको छ- उनी पनि अब पैसामुखी भइन् । उक्त फिल्म हेरेपछि धेरैले यही विश्लेषण गरेका छन् । किनकि, फिल्म हेरेका दर्शकले न उनको चरित्र मन पराए न त अभिनयको नै मुक्तकण्ठले प्रशंसा गरे । फलतः फिल्म पनि चलेन ।
यो फिल्म चले सोलो हिरोइनमा भ्याइनभ्याइ हुने ठूलै आशा थियो उनमा । तर, भइदियो विपरित । हुनत, जीवनमा आशा गरिएका धेरै कुराबाट कहिलेकाहीं निराशा भोग्नु पर्छ र त्यसले धेरै ठूलो पाठ पनि सिकाउँछ । वर्षालाई पनि उक्त फिल्मको असफलताले पक्कै राम्रै पाठ सिकायो होला !
'चौका दाउ' रिलिजको दुई हप्तापछि रिलिज भएको उनी अभिनीत नयाँ फिल्म 'गोपी' हाल प्रदर्शन भइरहेको छ । यसमा उनी सोलो हिरोइन त होइनन् तर चरित्र बलियो पनि छैन । भेटनरी डाक्टरको भूमिकामा रहेकी वर्षाले यो फिल्म पनि पैसाकै मुख हेरेर गरेको टिकाटिप्पणी सुरु हुन थालेको छ । बरु उनीमाथि यस फिल्ममा अभिनेत्री सुरक्षा पन्त हाबी छिन् ।
बढीजसो भीडभाडकै फिल्म गरेर उनले आफूलाई अभिनेत्रीको रुपमा स्थापित गरेकी थिइन् । उनले सोलो हिरोइनको रुपमा काम गरेको र हिट भएको फिल्म 'जात्रा' हो । यसमा हिरोइनको नाममा उनी मात्रै थिइन् । पुरुष कलाकारको बाहुल्यता रहे पनि उनलाई 'स्क्रिन स्पेस' पर्याप्त मिलेको थियो । फिल्म सफलताको 'जस' पनि पाइन् ।
'जात्रा' ले उनमा आफू पनि सोलो हिरोइनमा चल्न सक्ने आत्मविश्वास पलायो । 'चौका दाउ' त्यसैको प्रतिफल हो । हुनत, सोलो हिरोइन भएको फिल्म सबै चल्छ भन्ने छैन तर चरित्र र अभिनयमाथि नै प्रश्न उठ्नु भनेको चाहिँ एउटा कलाकारका लागि सुखद कुरा होइन । कतै सोलो हिरोइन हुने लोभले चरित्र महत्वपूर्ण नहुने ठानेकी त होइनन् वर्षाले ?
आशा गरौं, भविष्यमा अभिनेत्री वर्षा राउतले पैसाको वजन र सोलो हिरोइन हुने लोभले फिल्म छनोट गर्ने छैनन् ।

