नेपालमा पुस्तकमाथि बनेका फिल्मको इतिहास खासै राम्रो छैन । अपवाद बाहेक अधिकांश फिल्ममाथि पुस्तकको मर्म र भावना विपरित निर्माण भएको आरोप लाग्दै आएको छ । साथै, पुस्तकमाथि बनेका फिल्मले बक्सअफिसमा राम्रो पैसा छाप्न पनि सकेका छैनन् । यही कारण अचेल पुस्तकमाथि फिल्म निर्माण गर्न मेकर्सहरु तयार देखिँदैनन् ।
अझ चर्चित पुस्तकमाथि फिल्म निर्माण गर्नु आफैंमा चुनौतीपूर्ण हुन्छ । दर्शकलाई पुस्तकको हरेक एक हरफ कन्ठस्थ भइसकेको हुँदा फिल्म हेरिरहँदा कमी कमजोरी बढी औंल्याउँछन् । अधिकांशले पुस्तक पढ्दै गर्दा दिमागमा एउटा सुन्दर स्केच तयार पारिसकेका छन् र फिल्ममा पनि दुरुस्तै त्यही खोज्दछन् । यसकारण पनि पुस्तकमाथि फिल्म बनाउनु निकै जटिल काम हो ।
भोली शुक्रवारबाट आरोप र प्रशंसालाई आत्मसात् गर्न आख्यानकार सुबिन भट्टराईद्वारा लिखित चर्चित पुस्तक ‘समर लभ’ को कथामा आधारित भएर बनेको फिल्म ‘समर लभ’ प्रदर्शन हुँदैछ । यो पुस्तक नपढेका युवापुस्ताहरु सायदै नहोलान् । पुस्तकका पात्र अतित शर्मा र साया शाक्यको प्रेममा आफूलाई नभेट्ने पनि सायदै होलान् । पुस्तकमा सुबिनले फिल्मी शैलीमा अतित र सायाको प्रेम बुनेका थिए ।
घोषणाको बेलादेखि नै यस फिल्मको निर्माण टिममाथि पात्र चयनमा चुकेका आरोप लाग्दै आएको छ । अतितको भूमिकामा रहेका आशिष पिया र सायाको भूमिका निभाएकी रेवती क्षेत्रीलाई पुस्तक पढेका पाठकले स्वीकार गरेका छैनन् । युट्युबमा सार्वजनिक भएका गीतसंगीत र ट्रेलरमा पुस्तकका पात्र सुहाउँदो अतित र साया नभएको हजारौं कमेन्टमा प्राप्त छन् ।

निर्देशक मुस्कान ढकाल भने दर्शकले फिल्म हेरेपछि अतित र सायाको भूमिकामा आशिष र रेवतीलाई स्वीकार गर्नेमा विश्वस्त छन् । पत्रकारसँगको एक भेटमा उनी भन्दै थिए- 'पुस्तक पढ्दा हामीले कल्पना गर्ने पात्र र फिल्ममा हामीले छनोट गरेका कलाकारको रुपरंग फरक छ । यो हामी स्वीकार्छौं । तर, फिल्म हेरिरहँदा दर्शकले फरक महशुस गर्नुहुन्न भन्नेमा चाहिँ हामी ढुक्क छौं ।'
फिल्मका लागि आशिष अनुबन्ध भएको १६ महिनामा रेवती भेटिएकी थिइन् । लेखक सुबिन पुस्तकको पात्र सुहाउँदो कलाकार धेरै खोजे पनि अन्तिममा आएर आशिष र रेवतीमै आँखा खडिएको बताउँछन् । उनी भन्छन्, 'म पनि कलाकार छनोटमा सन्तुष्ट थिइन् । तर, फिल्म हेरिसकेपछि भने 'पोजेटिभ' छु ।' उनी फिल्ममा पुस्तक दुरुस्तै उतारिएकोमा खुसी छन् ।
निर्देशक ढकाल हिट पुस्तकमाथि आधारित भएर फिल्म बनाउन निकै गाह्रो हुने अनुभव सुनाउँछन् । 'सबैलाई थाहा भएको कुरा जस्ताको त्यस्तै पर्दामा उतार्न साह्रै गाह्रो हुने रहेछ', उनले सुनाए । उनले स्क्रिप्ट लेख्न सुरु गरेको बेलादेखि अहिलेसम्मको मुडसम्म आउँदा आफूले सोचेको कुरा ठ्याक्कै फिल्ममा उतार्ने प्रयत्न गरेको बताए । उनको दाबी छ- 'स्टोरी जस्तो बनेको थियो फिल्म त्यही नै बनेको छ ।'
‘समर लभ’ अत्याधिक रुचाइएपछि लेखक भट्टराईले यसको सिक्वेलको रुपमा ‘साया’ बजारमा ल्याएका थिए । फिल्मले भने ‘साया’ लाई छोएको छैन । ‘समर लभ’ पुस्तक जहाँबाट सुरु भएको थियो र जहाँ पुगेर अन्त्य भएको थियो फिल्ममा पनि त्यति मात्र छ । के ‘साया’ पनि बन्ला त ? पत्रकारको पत्रकारमा लेखक सुबिन भन्छन्, 'मलाई त मेरा हरेक पुस्तकमाथि फिल्म बनोस् भन्ने चाहना हुन्छ । ‘साया’ बन्छ वा बन्दैन त्यो अहिले नै भन्न सक्दिनँ ।'
निर्देशक ढकाल भने फिल्म ‘समर लभ’ हिट भए मात्र ‘साया’ बन्ने बताउँछन् । 'कमर्शियल अनसक्सेस भयो भने कसैले रिक्स मोल्न चाहँदैन । तर, आजको मितिसम्म म कमर्शियल अनसक्सेस हुन्न र ‘साया’ बन्छ जस्तो लाग्छ', उनले भने । उनका अनुसार, ‘साया’ बनाउने हिसाबले नै ‘समर लभ’ को स्क्रिप्ट तयार पारेको छ । यसअघि उनले 'नाइँ नभन्न ल ३' निर्देशन गरेका थिए ।

