Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सुबिन भट्टराईले फिल्म निर्देशन गर्ने !

फिल्मीखबर, काठमाण्डौ, 2019/02/06
युवापुस्तामाझ लोकप्रिय लेखक सुबिन भट्टराईले 'समर लभ', 'साया', 'प्रिय सुफी', 'मनसुन' जस्ता सफल पुस्तक लेखिसकेका छन् । उनका हरेक नयाँ पुस्तकको युवापुस्तामा व्यग्र प्रतिक्षा हुने गर्दछ । अहिले उनी नयाँ पुस्तक 'प्रिय सुफी' का कारण चर्चामा छन् । उनको चर्चित उपन्यास 'समर लभ' माथि फिल्म नै निर्माण भइसकेको छ । यही शुक्रवार फिल्म रिलिज हुँदैछ । 
 
नेपालमा कृतिमाथि आधारित भएर निर्माण भएका फिल्मले पुस्तकलाई न्याय गर्न नसकेको आरोप लाग्दै आएको छ । अपवाद छाड्ने हो भने पुस्तकमाथि बनेका फिल्मले घरेलु बजारमा राम्रो पैसा छाप्न पनि सकेका छैनन् । सुबिनलाई पनि पुस्तकको इज्जत फिल्मले जगाउला कि नजोगाउला भन्नेमा ठूलो चिन्ता छ । 
 
फिल्म हेरेपछि भने उनमा ‘कन्फिडेन्ट लेभल’ बढेको छ । सोमवार राजधानीमा पत्रकारसँँग गफिँदै उनले फिल्मले पुस्तकलाई न्याय गरेको बताए । पुस्तकको मर्म फिल्मले मर्न नदिएकोमा पनि उनले खुसी व्यक्त गरे । फिल्म हेरिरहँदा आफूले लेखेका केही चिजहरुले दुरुस्तै पाएको उनको भनाइ छ । भन्छन्, 'इमोसनल पाटोमा त मेरो आँखा नै रसाएकोे थियो ।' 
 
 
उनले अगाडि थप्दै भने, 'पुस्तकमा जसरी कथा बगेको छ फिल्ममा पनि त्यसरी नै बगेको छ । पुस्तक ठ्याक्कै फिल्ममा उतारिएको छ । पुस्तक पढ्ने/नपढ्ने दुबै दर्शकलाई फिल्मले निराश बनाउँदैन ।' उनी फिल्मको ट्रेलर हेरेपछि आफ्ना प्रशंसकहरु कसैबाट पनि प्रतिक्रिया राम्रो नआएको सुनाउँछन् । 
 
अतितको भूमिकामा कलाकार आशिष पिया सुहाउँदो नभएको प्रतिक्रिया आफूले धेरै पाएको उनले आशिषकै अगाडि निर्धक्क बताए । उनी स्वयं पनि पात्र चयनमा सन्तुष्ट रहेनछन् । निर्देशक र कलाकारकै अगाडि उनले भने, 'म लेखक भएका कारण पुस्तकको जस्तै चरित्र भेटेको भए राम्रो हुन्थ्यो भन्ने लाग्नु स्वभाविकै हो । तर, फिल्म हेरेपछि भने म पोजेटिभ छु ।' 
 
पुस्तक पढेकाले भन्दा नपढेकाले फिल्मबाट बढी मनोरञ्जन लिने सुबिनको निष्कर्ष छ । 'पुस्तक पढेकाहरु 'जजमेन्टल' हिसाबमा जान्छन् । कमी कमजोरीहरु बढी खोज्छन् । तर, पुस्तक पढेका वा नपढेका जो कोहीले पनि फिल्म रुचाउनुहुन्छ भन्नेमा चाहिँ म विश्वस्त छु', उनले भने । उनी आफूलाई पुस्तकसँगै फिल्म लेख्ने चाहना पनि अत्याधिक रहेको बताउँछन् । 
 
'फिल्मतिर मेरो 'इन्ट्रेस्ट' एकदमै छ । मलाई पुस्तक लेख्नुभन्दा अगाडि फिल्मका लागि कथा लेख्ने चाहना थियो । केही लेखेँ पनि तर त्यसै थन्किए', उनले अगाडि भने, 'भोलीका दिनमा अफर आयो भने फिल्मका लागि पनि कथा लेख्छु ।' उनले भविष्यमा आफैंले फिल्म निर्देशन गर्ने सोचमा रहेको पनि बताए । 
 
'फिल्म निर्देशन गर्ने सोचमा समेत छु तर त्यो कहिले पूरा हुन्छ थाहा छैन । तर, हतार भने गर्दिनँ', उनले भने । विस्तारै फिल्म क्षेत्रका व्यक्तिसँग संगत बढिरहेको बताउँदै उनले आफूले फिल्मका लागि थुप्रै कथाको खेस्रा तयार पारेको पनि बताए । सुबिनमा अब फिल्मको स्क्रिनप्ले र पुस्तक लेखनलाई एकसाथ लैजाने सोच छ । 
Most Visited News (monthly)