आउँदो फागुन १७ गतेबाट प्रदर्शनका लागि तयार रहेको सुपरस्टार अनमोल केसी स्टारर प्रतिक्षीत फिल्म ‘क्याप्टेन’ को एक लोक फ्लेवरको गीतको छायांकन अहिले धमाधम भइरहेको छ । ललितपुरको एक पार्टी प्यालेसमा छायांकनरत ‘कर्ली कर्ली’ गीतमा अनमोलसँग ‘दक्षिणा’ जोडी भुवन केसी र निरुता सिंहले एकसाथ कम्मर मर्काएका छन् ।
मेलिना राई र एसडी योगीको आवाजमा तयार भएको यो गीतमा एसडीकै शब्द तथा संगीत छ । रेनशा वान्तवा राईको गीतको भिडियोमा कोरियोग्राफी छ । उनले गीतलाई उत्कृष्ट बनाउन कुनै कसर बाँकी नराखेको बताइन् । उनी भन्छिन्, ‘गीत निकै नै मिठो छ । दर्शकले केही नयाँ स्वाद पाउनुहुनेछ ।’ गीतमा मोटो रकम खर्च गरिएको छ ।
पहिलो पटक अनमोल र भुवन पर्दामा देखिन लागेका हुन् । पितासँग एकसाथ ठुम्का लगाउँदा अनमोल भने केही नर्भस देखिन्थे । भुवन छोरातिर हेर्दै भन्छन्, ‘मैले नाचेपछि अनमोल नर्भस देखिन थाल्यो ।’ बाबु-छोराको जिस्क्याइमा रमाइरहेकी नायिका निरुता सिंह यो गीतमा नृत्य गर्दा बेग्लै आनन्द आइरहेको बताउँछिन् ।
निरुताले छायांकन भइरहेको गीत नेपाली फिल्मका दर्शकका लागि एउटा बेग्लै स्वाद हुने विश्वास व्यक्त गरिन् । गीतको बिषयमा निर्माता समेत रहेका भूवनले भने- ‘इशान नाम गरेको पात्रले खेल जितिसकेपछि सेलिव्रेशनको क्रममा यो गीत पर्दामा आउनेछ । दर्शकका लागि अनमोल, म र निरुताको जोडी बेग्लै स्वाद हुने विश्वास लिएको छु ।’
यो फिल्ममा अनमोल केसीको साथमा उपासना सिंह ठकुरी, प्रियंका एमभी, सुनिल थापा, प्रशान्त ताम्राकार, विल्सन विक्रम राई मुख्य भूमिकामा छन् । दिवाकर भट्टराइको निर्देशनमा तयार भएको चलचित्रमा सुदिप बरालको छायांकन छ । केही दिन फिल्मको ट्रेलर सार्वजनिक भएको थियो, जसले अहिले युट्युबमा लाखौं भ्यूअर्स बटुलिरहेको छ ।
ट्रेलर हेर्नुहोस् :-

