सुपरस्टार अनमोल केसीको जोडी भएर काम गरेपछि अभिनेत्रीहरुको भाग्य बल्छ भनिन्छ । ज्वलन्त उदाहरणको रुपमा अभिनेत्री साम्राज्ञी आरएल शाहलाई नै लिन सकिन्छ । 'ड्रिम्स' बाट डेब्यु गरेकी उनी अहिलेकी सर्वाधिक महँगी र डिमान्डेड अभिनेत्री हुन् । उनलाई आफ्नो फिल्ममा लिन निर्माताहरु तानातान गर्ने गर्दछन् । कारण, उनको क्रेज लोभलाग्दो छ ।
.jpg)
तर, अनमोलसँग काम गरेपछि सबैको भाग्य साम्राज्ञीको जसरी चम्किन्छ भन्ने ग्यारेन्टी छैन । फिल्म रिलिजपछि गुमनाम जस्तै भएका अभिनेत्रीहरु पनि छन् । अभिनेत्री अदिती बुढाथोकी एक उदाहरण हुन् । डेब्यु फिल्म 'कृ' बक्सअफिसमा औसत रहेपछि उनलाई लिएर निर्माताहरु जोखिम उठाउन चाहेको देखिँदैन । अहिले उनी मुम्बईमा छिन् ।
अभिनेत्री आना शर्माले पनि अभिनेता अनमोलको दोस्रो फिल्म 'जेरी' बाट अभिनय यात्राको मुहूर्त गरेकी थिइन् । यो फिल्म हिट साबित भयो । अनमोललाई 'स्टार' बनायो । आनालाई सम्भावना बोकेको अभिनेत्रीको रुपमा हेरियो । तर, अहिले उनको फिल्मी यात्रा अन्योलपूर्ण अवस्थामा छ । न राम्रो फिल्म हातमा परेका छन् न गिनेचुनेका ब्यानरको आँखा नै परेको छ ।
उनले डेब्यु फिल्म रिलिजको करीब २ वर्षपछि 'जेरी' निर्देशक हेमराज विसीकै फिल्म 'ग्याङ्गस्टर ब्लूज' मा अभिनेता आशिरमान देशराज जोशीसँग रोमान्स गरिन् । तर, यो फिल्म बक्सअफिसमा 'डिजास्टर' साबित भयो । यस फिल्मको असफलताले उनको भर्खर टुसाउन लागेको करियर टुसामै भाँचियो । अब हातमा फिल्म पर्छ वा पर्दैन भन्नेमा उनी आफैं सशंकित थिइन् ।
अझैसम्म ‘अनमोलकी हिरोइन’ को ट्यागबाट आफूलाई मुक्त गर्न नसकेकी उनको तेस्रो फिल्म 'द म्यान फ्रम काठमाडौं' आउँदो चैत १ गते प्रदर्शनमा आउँदैछ । यो नेपालमा निर्माण भएको पहिलो अंग्रेजी फिल्म हो । पेमा धोन्डुप निर्देशित फिल्मलाई नकिम उद्यिनले निर्माण गरेका हुन् । उनले फिल्ममा अमेरिकी अभिनेता जोसे म्यानुअलसँग रोमान्स गरेकी छन् ।
.jpg)
यसलाई नेपालसँगै विदेशी मार्केटमा पनि प्रदर्शन गर्ने तयारी निर्माण टिमको छ । यो फिल्म घरेलु बजारमा सफल भए र विदेशी मार्केटमा प्रदर्शन भएको खण्डमा अभिनेत्री आनाको धरमर यात्रालाई दरिलो बनाउन ठूलो सहयोग पुग्नेछ । नभए उनले फेरि आफूलाई 'अनमोलकी हिरोइन' को रुपमा चिनाउनुको अरु विकल्प छैन । तनावै छ आनालाई पनि !

