Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

थन्किएको हो ‘धुर्मुस-सुन्तली’ को ‘एन्टिभाइरस’ ?

फिल्मीखबर, काठमाण्डौ, 2019/02/05
केही वर्ष अगाडिसम्म जोकर भनेर हेपिने हास्यकलाकारहरु अहिले नेपाली फिल्मका शक्तिशाली कलाकारमा गनिन्छन् । हास्यटेलिसिरियलमा रुचाइएका कलाकारहरुलाई लिएर दीपकराज गिरी र दीपाश्री निरौलाले चर्चित उखानहरु जोडजाड गरेर फिल्म '६ एकान ६' बनाए । फिल्मले नसोचेको सफलता पायो । यसपछि 'वडा नम्बर ६' हुँदै दीपक-दीपा टिमले 'छक्का पञ्जा' को तीन सिरिज समेत निर्माण गरिसके । 
 
'छक्का पञ्जा' ले घरेलु बजारमा नेपाली फिल्मको इतिहासमा सर्वाधिक कलेक्सनको रेकर्ड राखेपछि अहिले नेपाली फिल्ममा कमेडी फिल्मको ट्रेन्ड नै सुरु भएको छ । अचेल अधिकांश फिल्म कमेडीको चास्नी हालेर निर्माण हुन थालेका छन् । दीपक-दीपाले फिल्म बनाएरै करोडौं कमाएको देखेर फिल्म निर्माणमा होमिने नयाँ निर्माताहरु दिनप्रतिदिन बढेका बढ्यै छन् । 
 
 
यसबीच, चर्चित हास्यकलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) पनि फिल्म निर्माण गर्न तम्सिए । कलाकारिता हुँदै पछिल्लो समय समाजसेवामा पनि सक्रिय हुँँदै आएका उनीहरु 'इन्टिभाइरस' नाममा फिल्म बनाउने लगभग अन्तिम तयारीमा थिए । गएको केही महिना अगाडि सितारामले आफ्नो जन्मदिनमा केही दिनमा फिल्मको घोेषणा गर्ने समेत बताएका थिए । 
 
तर, दुई वर्षभित्र भरतपुरमा 'गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला' बनाउनका लागि कम्मर कसेपछि उनीहरुले फिल्म निर्माण तत्कालका लागि रोकेको बताइएको छ । तर, फिल्म निर्माण हुन नसक्नुको कारण बजेट मानिएको छ । फिल्मको लागत तीन करोडमाथि हुने भएपछि ‘धुर्मुस-सुन्तली’ ले 'इन्टिभाइरस' बनाउन नसकेको स्रोत बताउँछ । यो फिल्ममा 'भद्रगोल' टिमले सहकार्य गर्दै थियो । 
 
ज्योतिषले 'एस' (स) बाट नाम राख्न सुझाव दिएपछि 'धुर्मुस सुन्तली' ले फिल्मको नाम 'इन्टिभाइरस' बाट 'सेन्टिभाइरस' समेत बनाएका थिए । अभिनेता प्रदीप खड्कालाई फिल्म अफर पनि गरिएको थियो । तर, अब यो फिल्म नबन्ने निश्चित भएको जानकारी प्राप्त छ । रंगशाला निर्माणपछि मात्र उनीहरु नयाँ स्क्रिप्टमा फिल्म बनाउने सोचमा छन् । 'भद्रगोल' टिमले भने 'फनफनी' नाममा फिल्म बनाउँदैछ । 
Most Visited News (monthly)