यस वर्षको गएको १० महिनामा करीब ८० बढी फिल्म प्रदर्शनमा आइसकेका छन् । तर, वितेको १० महिनामा १० वटा फिल्म पनि बक्सअफिसमा सफल छैनन् । 'नाइँ नभन्नू ल ५' र 'जय भोले' ले लगानी सुरक्षित गरेर निर्मातालाई चिया खाने पैसा पनि दिए । फिल्म 'छक्का पञ्जा ३' ले त बक्सअफिसमा पैसाको वर्षात नै गर्यो ।
'इन्टु मिन्टु लण्डनमा', 'रामहानी', 'प्रसाद' फिल्मले पनि बक्सअफिसमा राम्रै पैसा छापे । तर, बाँकी प्रदर्शनमा आएका फिल्मका निर्माताले करोडौंको डंका फुके पनि पोस्टरमा लगानी गरेको पैसा समेत फिर्ता पाउन सकेनन् । 'छक्का पञ्जा' सिरिजले करोडौं कमाएको देखेर फिल्म बनाउने धेरै निर्माताको यस वर्ष पनि बिल्लीबाठ भएको छ ।

वर्ष २०७५ को पुष र माघको दोस्रो सातासम्म मात्रै आधा दर्जन बढी फिल्म रिलिज भइसकेका छन् । तर, कुनै चलेनन् । अहिले हलमा तीन फिल्म छन्, 'गोपी', 'रणवीर' र 'सयकडा दश' । यी तीन फिल्मको अवस्था पनि दयनिय रहेको वितरक तथा हल सञ्चालक गोपालकाजी कायस्थको फेसबुक स्टाटसले स्पष्ट पार्छ ।
जडीबुटीमा रहेको पुष्पाञ्जली हलका मालिक समेत उनले एक स्टाटस लेख्दै अहिले हलमा दर्शक नभएर झिँगा धपाउँदै बसिरहेको बताएका छन् । उनले आफ्नो तश्बिरसँगै क्याप्सनमा लेखेका छन्, 'हलमा दर्शक नभएर झिँगा धपाउँदै । हलमा दर्शक आउनका लागि फागुन १७ नै कुर्नु पर्ने भो । जय 'क्याप्टेन' ।'
उनले मात्र होइन हास्यकलाकार तथा 'छक्का पञ्जा' सिरिजका अभिनेता तथा निर्माता दीपकराज गिरीले पनि हलमा दर्शकको खडेरी लागेको भन्दै व्यंग्य गरेका छन् । प्रदर्शनरत तीन फिल्मलाई व्यंग्य गर्दै उनले फेसबुकमा एक स्टाटस लेखेका छन्, 'दर्शक हराएको सुचना... ।' उनको यस स्टाटसले पनि हलमा दर्शकको संख्या भन्दा हलका स्टाप धेरै रहेको बताउँछ ।
शुक्रवारबाट प्रदर्शनमा आएका तीन फिल्मको माउथ पब्लिसिटी राम्रो छ । फिल्म हेरेका दर्शकले नाक खुम्च्यिाएर निस्किएका छैनन् । तर, फिल्मको व्यापारले भने निर्माताको होस् हवास उड्न थालेको छ । जाडोको कारण दर्शक हलमा आएनन् भनेर चित्त बुझाउने बाटो पनि छैन । आखिर किन दर्शकलाई हलसम्म पुग्ने जाँगर चलेको छैन ? यो बुझ्न न निर्माता न त हल सञ्चालकले नै सकेका छन् ।

