शुशील सिटौला कमेडी भूमिकामा रुचाइएका कलाकार हुन् । 'होस्टेल रिर्टन्स', 'गाजाबाजा', 'सुन्तलीलाई भगाई लग्यो झिल्केले' लगायतका फिल्ममा उनले कमेडी भूमिकाबाट दर्शक हँसाउने प्रयास गरे । अनुहारको बनावट चकलेटी भए पनि उनले कुनै फिल्ममा लिड रोलमा भने काम गर्न पाएका थिएनन् । जति गरे त्यसमा उनी सहायक भूमिकामा थिए ।
.jpg)
शुक्रवारबाट प्रदर्शनमा आएको फिल्म ‘रणवीर’ का भने उनी लिड हिरो हुन् । फिल्मको मूल कथा नै उनको वरिपरि घुमेको छ । एक्सनले भरिएको ट्रेलरमा अभिनेता प्रशान्त ताम्राकारसँग घम्साघम्सी गर्दा उनलाई नसुहाएको प्रतिक्रिया थुप्रै आएका थिए । किनकि, एक्सन हिरो भनेको अग्लो कद र शारीरिक बल भएको हुनुपर्छ भन्ने मान्यता अझै भत्किएको छ ।
शुशीलकै कारण फिल्म नचल्ने शंका पनि रिलिजपूर्व नभएका होइनन् । फिल्म बक्सअफिसमा हिट साबित हुन्छ वा हुँदैनन् त्यसका लागि भने केही दिन अझै प्रतिक्षा गर्नैपर्ने छ तर शुशीलको अभिनयको भने फिल्म हेर्ने जो कोहीले प्रशंसा गरेका छन् । उनले निभाएको चरित्र उनकै लागि लेखिएझैं लाग्छ । फिल्म हेरिरहँदा उनी गलत छनोट हुन् भन्ने महशुस हुँदैन ।
.jpg)
बदलाको कथा वाचन गरेको फिल्ममा शुशीलले अभिनयमा खोट लगाउने ठाउँ छाडेका छैनन् । टाइटल क्यारेक्टरमा रहेका उनले जीवन्त अभिनय पस्केका छन् । उनको अभिनय, डाइलग डेलिभरी, कमेडी, एक्सनले आँखा विझाउँदैनन् । अग्लो कद र शारीरिक बलका प्रशान्तसँग उनको भिडन्तले साउथ फिल्मको झल्को दिन्छ । बदला लिन उनले शारीरिक बनावटमा ल्याएको परिवर्तन पनि तारिफयोग्य छ ।
यो फिल्म सफल भएको खण्डमा उनलाई एक्सन फिल्ममा लिन निर्माताहरुबीच तानातान हुने निश्चित छ । फिल्ममा प्रमुख भूमिकामा रहेका प्रशान्त ताम्राकारको अभिनय पनि जोडदार छ । नव- अभिनेत्री द्वय सुवेक्षा खड्का र सुपुष्पा भट्टले राम्रो सम्भावना देखाएका छन् । हरिहर शर्मा, टिका पहारी, नरेश पौडेल पनि आफ्नो भूमिकामा फिट छन् ।
.jpg)
शुक्रवार औसत व्यापार गरेको फिल्म ‘रणवीर’ को शनिबार भने केही सुखद छ । ‘वर्ड अफ माउथ’ राम्रो भएका कारण आइतबारबाट दर्शकको संख्यामा वृद्धि हुनेमा निर्माण टिम विश्वस्त छ । यो फिल्मलाई मल्टिप्लेक्समा भन्दा सिंगल स्कृनमा दर्शकले निकै रुचाएका छन् । गोमा विष्ट थापा र दीपेन्द्र रेग्मी निर्मित फिल्मलाई गोविन्द सिंह भण्डारीले निर्देशन गरेका हुन् ।

