भ्रष्टाचारले समाज र परिवारलाई पार्ने प्रभावको कथामा निर्माण भएको फिल्म ‘सयकडा दश’ शुक्रवारबाट प्रदर्शनमा आएको छ । प्रदर्शनको पहिलो दिन औसत रहेको फिल्मको कलेक्सन ग्राफ शनिबार केही उकालो लागेको छ । माउथ पब्लिसिटी रहेकाले आइतबारबाट दर्शकको संख्यामा वृद्धि हुने निर्माण टिमको विश्वास छ ।

यसबीच, शनिबार संघीय मामिला तथा स्थानिय विकास मन्त्री लालबाबु पण्डित, मुख्य सचिव लोकदर्शन रेग्मी, अख्तियार पूर्वप्रमुख सूर्यनाथ उपाध्यायसहित सरकारका उच्च पदस्थ कर्मचारीले फिल्म हेरेका छन् । फिल्म हेरेपछि मन्त्री पण्डितले विषयवस्तु, प्रस्तुति, सन्देश र मौलिकताको आधारमा राष्ट्रिय फिल्म तय गरिनुपर्ने बताए ।
उनले भ्रष्टाचारको सामाजिक प्रभाव चित्रण गरिएको फिल्म ‘सयकडा दश’लाई राष्ट्रिय फिल्म भन्न सकिने तर्क पेश गरे । फिल्म हेरिरहँदा पटक–पटक रोएको बताउँदै उनले युवाले उक्त फिल्म एकपटक हेर्नैपर्ने सुझाए । ‘यसको सन्देश प्रभावशाली मात्रै छैन, सरकारलाई घच्घचाउने खालको समेत छ’ उनले भने ।
उनले अभिनेता एवं निर्माता राजाराम पौडेलको अभिनयको खुलेर प्रशंसा गरे । फिल्ममा पौडेल एक भ्रष्ट सरकारी अधिकृतको भूमिकामा प्रस्तुत छन् । मुख्य सचिव रेग्मीले फिल्म समसामयिक र सन्देशमुलक रहेको भन्दै संक्षिप्त प्रतिक्रिया दिए । अख्तियार पूर्वप्रमुख उपाध्यायले भ्रष्टाचार नियन्त्रण प्रयासका लागि फिल्म सशक्त माध्यम भएको बताए ।

‘सयकडा दश भ्रष्टाचार नियन्त्रण र सदाचार समाज बनाउनका लागि एउटा आदर्श हो’ उनले भने, ‘सरकार मात्र हैन, नागरिक समेत यसतर्फ चेतनशिल हुनु जरुरी छ ।’ रामशरण पाठक निर्देशित फिल्ममा मनोज गजुरेल, राजाराम पौडेल, अमृत ढुंगाना, करुणा श्रेष्ठलगायतको अभिनय छ । फिल्मलाई गतसाता थाइल्यान्ड र म्यानमारमा प्रदर्शन गरिएको थियो ।

