
बलिउड हुँदै हलिउडसम्मको सफर तय गरिसकेकी अभिनेत्री प्रियंका चोपडा अहिले हलिउडमा एक नयाँ प्रोजेक्टमा काम गरिरहेकी छन् । इन्डस्ट्रीमा अभिनयबाट आफ्नो स्थान बनाएपछि अचेल उनी प्रोडक्सनतर्फ पनि लागेकी छन् । अब उनी रजनीश ओशोकी सहयोगी माता आनन्द शीलामा आधारित भएर एक फिल्म बनाउँदैछिन् ।
आनन्द शीलाको भूमिका भने प्रियंका स्वयंले निर्वाहा गर्नेछिन् । यो फिल्मको निर्देशन बैरी लेविनसनले गर्नेछन् । प्रियंकाले एलन डिजेनेरसको फेमस च्याट शो 'द एलन शो' मा यस विषयमा बताइन् । अहिले उनी १४ फेव्रअरीमा रिलिज हुन लागेको नयाँ फिल्म 'इसन्ट इट रोमेन्टिक' को प्रचारमा व्यस्त छिन् ।
माता आनन्द शीला, गुरू रजनीश ओशोको सहयोगी थिइन् । उनले ओरेगन, यूएस स्थित रजनीशपुरम आश्रम १९८१ देखि १९८५ सम्म सम्हालेकी थिइन् । १९८५ मा उनलाई हत्याको प्रयासको आरोपमा जेल सजाय सुनाइएको थियो । उनले ३९ महिना जेल जीवन विताइन् । ओशोको आश्रमको कहानीमा एक नेटफ्लिक्स डक्यूमेन्ट्री 'वाइल्ड वाइल्ड वर्ल्ड' पनि बनाइएको छ ।
अहिले प्रियंका 'स्काई इज पिंक' नामक बलिउड फिल्ममा व्यस्त छिन् । उनी लामो समयपछि बलिउड फिल्ममा देखिन लागेकी हुन् । अन्तिम पटक उनी २०१६ मा आएको फिल्ममा देखिएकी थिइन् । हलिउडमा प्रियंकाको सफरको सुरुवात अमेरिकी टिभी सिरिज 'क्वान्टिको' बाट भएको थियो । यसपछि उनी २०१७ मा फिल्म 'बेवाच' मा देखिएकी थिइन् ।

