Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(6 votes, avg 4.83/5.00)
Text size:-
+
-

अनमोलको स्पष्टिकरणः ‘प्रदीप, पल र सलिनको अपमान गरेको होइन’

फिल्मीखबर, काठमाण्डौ, 2019/02/01
दर्शकबाट ‘मेगास्टार’ को उपाधि पाएका अभिनेता अनमोल केसी अहिलेसम्म खासै विवाद र आलोचनाको पात्र बन्नु परेको छैन । तर, केही हप्ता अगाडि आफूले साइन गरेर पनि छाडेको निर्देशक मिलन चाम्सको फिल्म ‘ब्याचलर बन्टी’ आफ्नै प्रतिस्पर्धी अभिनेताहरुको नामै किटान गरेर काम गर्न सुझाव दिएपछि उनको चर्को आलोचना भयो । 
 
‘ए मेरो हजुर ३’ को गीतको छायांकनका लागि अमेरिका उड्दै गर्दा त्रिभुवन विमानस्थलमा पत्रकारले उनलाई सोधेका थिए- अब 'ब्याचलर बन्टी' कुन अभिनेताले गर्दा राम्रो होला ? उनले नामै तोकेर भने- 'प्रदीप खड्का, पल शाह र सलिनमान बनियाँले गर्दा राम्रो हुन्छ ।' उनले नाम लिएका अभिनेतालाई उनकै प्रतिस्पर्धीका रुपमा लिने गरिन्छ । 
 
 
अनमोलले आफूलाई स्क्रिप्ट चित्त नबुझेर छाडेको फिल्म आफ्नै प्रतिस्पर्धी अभिनेताहरुलाई गर्न सुझाव दिनुलाई धेरैले धेरै तरिकाबाट विश्लेषण गरे । कतिपयले प्रदीप, पल र सलिनमानको उनले अपमान गरेको रुपमा टिप्पणी गरे । अनमोलका 'डाइहार्ट' फ्यानले भने सम्मानका रुपमा लिए । यस विषयमा विवाद अझै टुङ्गिएको छैन ।
 
अनमोलप्रति प्रदीप, पल र सलिनमानका प्रशंसकहरु आक्रोशित भइरहेको अवस्थामा अन्ततः यस विषयमा उनले आफ्नो स्पष्टिकरण दिएका थिए । शुक्रवार फिल्म ‘क्याप्टेन’ को ट्रेलर रिलिज कार्यक्रममा उनले आफूले अपमान गर्ने उद्येश्यले नभनेको बताए । उनले भने, 'मैले अपमान गरेको होइन । जसले सक्छ उसले गर्दा राम्रो हुन्छ भनेको हुँ ।' 
 
उनले आफूमाथि खनिएका प्रदीप, पल र सलिनमानका फ्यानलाई पनि गतिलै जवाफ फर्काए, 'फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काडै संसार । यदी मेरो कुराले कसैलाई चित्त दुखेको भए माफी चाहन्छु ।' तर, उनी आफूले छाडेको फिल्म गर्न तीन अभिनेताको नाम लिनुलाई आफ्नो गम्भीर गल्ती मान्दैनन् । 
Most Visited News (monthly)