Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘कुशुमे रुमाल’ बाट पारिश्रमिक नपाएको भुवनको खुलासा

फिल्मीखबर, काठमाण्डौ, 2019/02/01
अभिनेता भुवन केसीलाई सुपरस्टार बनाएको फिल्म हो ‘कुशुमे रुमाल’ । २०४१ सालमा प्रदर्शनमा आएको यो फिल्मका हरेक दृश्य अझै दर्शकको दिमागमा ताजै छन् । त्यसबेलाको सबैभन्दा धेरै कमाई गर्न सफल यो फिल्ममा भुवनको अपोजिटमा अभिनेत्री तृप्ती नाडकर थिइन् । फिल्ममा समावेश 'मायाको बारी' मा गीत अझै लोकप्रिय छ । 
 
यस फिल्ममा भुवन र तृप्तीको जोडीलाई दर्शकले निकै रुचाएका थिए । यो फिल्मपछि उनीहरुले लगातार धेरै फिल्ममा सँगै काम गरे । तुलसी घिमिरे निर्देशित उक्त फिल्मलाई उद्धव पौडेलले निर्माण गरेका थिए । केही वर्ष अगाडि यो फिल्मको नामको पछाडि २ थपेर उद्धवका छोरा निरक पौडेलले ‘कुशुमे रुमाल २’ पनि बनाएका थिए तर चलेन । 
 
‘कुशुमे रुमाल’ रिलिजको ३ दशकपछि अभिनेता भुवनले एक ठूलो खुलासा गरेका छन् । उनले उक्त फिल्मबाट अझैसम्म पारिश्रमिक नपाएको बताएका छन् । हास्यकलाकार सन्दिप क्षेत्रीको चर्चित शो 'वाट्स द फ्लप' मा अतिथी भएर पुगेका उनले फिल्म सुपरहिट भए पनि निर्माताबाट पारिश्रमिक नपाएको खुलासा गरे ।
 
 
काम गरेर पनि पारिश्रमिक नपाएको कुनै फिल्म छ ? भन्ने सन्दिपको प्रश्नमा भुवनले भने, ‘‘कुशुमे रुमाल’ नै छ नी । निर्माताले फिल्म चलेपछि दिन्छु भन्नुभयो । मलाई पनि त्यसबेला फिल्म गर्ने ठूलो रहर थियो । फिल्म सुपरहिट भयो तर पारिश्रमिक अहिलेसम्म पाएको छैन । निर्माताले भने हल नै खोलिसक्नुभयो ।’’
 
‘कुशुमे रुमाल’ का निर्माता उद्धव पौडेल चावहिलमा रहेको गोपीकृष्ण हलका मालिक हुन् । भुवनलाई उक्त फिल्मबाट पारिश्रमिक नपाए पनि निर्मातासँग कुनै गुनासो छैन । उनी भन्छन्, 'फिल्म सुपरहिट भएपछि मैले करियर फर्किएर हेर्नु परेन । मलाई नेपाली फिल्ममा स्थापित गरेको फिल्म नै ‘कुशुमे रुमाल’ हो ।'
 
करीब ८ वर्षदेखि अभिनयबाट टाढा रहेका भुवन अहिले आफू छोरा अनमोल केसीको करियरलाई लिएर चिन्तित रहेको बताउँछन् । उनी भन्छन्, 'मैले आफ्नो समयमा राम्रो फिल्म गरेँ । अब छोराको भविष्य राम्रो बनाउन दत्तचित्त भएर लागेको छु ।' उनी चाँडै फिल्म 'क्याप्टेन' को एक गीतमा भने देखिँदैछन् । 
 
अभिनेता भुवनले अभिनेता राजेश हमालले अभिनय गरेको फिल्म 'सकुन्तला' आफूलाई अफर नभएकोमा थकथक लागेको पनि बताएका छन् । उनी भन्छन्, 'राजेशको 'सकुन्तला' मलाई अफर आएको भए गर्थेँ । मैले जुँगाको चाहिँ बलिदान दिनु पर्थ्यो तर म गर्थेँ ।' यस फिल्ममा हमाल महिलाको गेटअपमा प्रस्तुत भएका थिए । 
 
एक समय राजेश हमालले नेपाली फिल्ममा बनाएको बलियो साम्राज्य भुवनले हल्लाएका थिए । उनीहरु दुई दशक अगाडिका प्रतिस्पर्धी हिरो हुन् । अझै पनि भुवन र राजेशबीच वाकयुद्ध छ भनिन्छ । कतै भुवनले राजेशलाई चिड्याउन ‘‘सकुन्तला’ अफर आएको भए गर्थेँ‘‘ भनेका त होइनन् ? किनकि, यो फिल्म बक्सअफिसमा पत्तासाफ भएको थियो । 
Most Visited News (monthly)