२०१८ को अन्त्यमा रिलिज भएको फिल्म 'जिरो' बक्सअफिसमा धरासायी भएपछि बलिउड सुपरस्टार शाहरुख खानले चाँडै अन्तरिक्ष यात्री राकेश शर्माको बायोपिक 'सारे जहां से अच्छा' को छायांकन सुरु गर्न लागेको खबर बाहिरिएको थियो । तर, अचानक उनले फिल्म छाडेको खबर बाहिरियो ।
अब शाहरुखको यो बिग बजेटको फिल्म गर्न कयौं एक्टर्सको भीड लागेको छ । केही दिनयता उक्त फिल्मलाई लिएर कुनै न कुनै ठूलो खबर बाहिर आइरहेको छ । अब शाहरुख निक्लिएपछि फिल्मको प्रोडक्सन टिम यसमा कुनै नयाँ पिढीको हिरो राख्ने सोचमा छ । केही अभिनेताको नाम पनि बाहिर आएको छ ।

फिल्ममा लिड रोलका लागि कार्तिक आर्यन र विक्की कौशलमध्ये एक हुनसक्ने चर्चा नसेलाउँदै अब यो दौडमा एक नयाँ नाम जोडिएको छ । बलिउड लाइफका अनुसार, महेश मथाईको यो फिल्मका लागि 'स्त्री' स्टार राजकुमार रावलाई पनि अप्रोच गरिएको छ । राजकुमार यो फिल्म गर्न सकारात्मक देखिएका छन् ।
तर, शाहरुखले फिल्म छाडेपछि उक्त फिल्मका लागि अहिलेसम्म टिमले परफेक्ट अनुहार भने भेट्न सकेको छैन । राजकुमार, विक्की र आर्यनमाथि अहिले प्रोडक्सन टिमको आँखा अडिएको छ । अब हेर्न यो बाँकी छ कि यी तीन महारथीमध्ये कसले यो बाजी मार्नेछ । उनीहरु अहिले दर्शकले सर्वाधिक रुचाएका अभिनेतामा पर्दछन् ।

