६० को दशकमा नेपाली फिल्ममा आफ्नो वर्चश्व कायम गरेकी अभिनेत्री विपना थापा करीब एक दशकदेखि यस क्षेत्रबाट टाढा छिन् । थुप्रै सफल फिल्म दिएकी उनले 'त तँ साह्रै विग्रिस् नी बद्री' मा नेगेटिभ रोलदेखि 'माइली' मा युवतीहरुलाई समाजमा जागरण पैदा गर्ने भूमिकासम्म निभाएकी छन् । उनले सोझी र दुःखी महिलाको भूमिका पनि धेरै गरेकी छन् ।
भर्सटायल अभिनेत्रीको रुपमा आफूलाई स्थापित गरेकी उनी भारतिय नागरिक डा. आशुतोष भारद्धाजसँग विवाह गरेपछि नेपाली फिल्ममा फर्किइनन् । ७ वर्षे एक छोराकी आमा समेत भइसकेकी विपना परिवारको असहयोगका कारण फिल्ममा फर्किन नसकेको बताइन्छ । तर, उनी परिवारबाट फिल्ममा फर्किन कुनै रोकथोक नभएको बताउँछिन् ।
श्रीमान र एक छोरासहित भारतको मथुरामा बस्दै आएकी उनले हालै एक अन्तर्वार्तामा भनिन्, 'मलाई फिल्म गर्न परिवारबाट कुनै बाधाअड्चन छैन । तर, म एक आमा भइसकेको छु । अहिले म एक असल आमा हुनुको दायित्व निभाइरहेको छु ।' अर्को वर्षबाट छोरालाई होस्टेल राख्ने र फिल्ममा फर्किने सोच बनाएको उनले बताइन् ।
उनी अभिनयका साथै फिल्म निर्माण र निर्देशनमा सक्रिय हुने सोचमा पनि छिन् । उनले भनिन्, 'एउटा कलाकारलाई आफ्नै क्षेत्रमा कुनै न कुनै रुपमा निरन्तरतता दिने चाहना हुन्छ नै । ममा पनि अभिनयसँगै चलचित्र निर्माण गरेर या निर्देशन गरेर यो कर्मलाई निरन्तरता दिने चाहना छ ।'
(1).jpg)
कलाकारका लागि भूमिका राम्रो र नराम्रो भन्ने कुराले खास अर्थ नराख्ने पनि तर्क राख्छिन् उनी । 'एउटा कलाकारले जस्तो खालको भूमिकामा पनि न्याय दिने प्रयास गर्नुपर्छ । मेरो समय मिलेको खण्डमा म जस्तो भूमिकामा पनि आफूलाई उतार्न तयार छु', उनी सुनिइन् । अभिनेत्री करिश्मा मानन्धरको जीवनीमा फिल्म बने काम गर्ने रहर रहेको उनी बताउँछिन् ।
करिश्माको संघर्ष र सफलतामाथि फिल्म निर्माण गरे नयाँ पुस्ताको लागि उपयोगी हुने उनको धारणा छ । 'उहाँ (करिश्मा मानन्धर) को जीवनीमा कुनै फिल्म बन्छ भने मलाई काम मन छ', उनले अगाडि थपिन्, 'यो उमेरमा आएर पनि बिद्यालय गएर उहाँले पढ्नका लागि कुनै उमेर चाहिँदैन भन्ने उदाहरण दिनुभएको छ ।'
करिश्माको आँट र विश्वासले नेपालका दुर्गम भेगका महिलालाई पनि सकारात्मक सन्देश दिएको उनको भनाइ छ । विसेश्वर प्रसाद कोइरालाको कुनै कृतिमाथि फिल्म बनेको खण्डमा पनि आफू अभिनय गर्न तयार रहेको उनले बताइन् । अभिनेत्री विपना आफूलाई हिरोइन नभएर कलाकार भन्न चाहने पनि बताउँछिन् ।
विपना थापाले ‘सहिद गेट’, ‘मामाभान्जा’, ‘ख्यालख्यालैमा’, ‘बरमाला’, ‘बेइमानी’, ‘रामबलराम’, ‘देवदूत’, ‘प्यारी बहिनी’, ‘जित’, ‘सगुन’, ‘अनाथ’, ‘शंकर’ लगायत १ सय ११ वटा फिल्ममा अभिनय गरिसकेकी छन् । उनको पहिलो फिल्म ‘जन्मभूमि’ २०५३ सालमा प्रदर्शनमा आएको थियो ।

