अहिले कुनै फिल्मको औपचारिक निर्माण घोषणा भयो भने सुटिङै सुरु नहुन्जेल दर्शकले पत्याउँदैनन् । यो अविश्वास पैदा हुनुको दोषी फिल्मकर्मी स्वयम् हुन् । किनकि, यसअघि थुप्रै घोषणा भएका फिल्म घोषणामै सीमित भएका छन् । कामभन्दा ‘गफ’ मा बढी विश्वास गर्ने प्रवृतिका कारण नेपाली फिल्ममेकर्सप्रति अविश्वास बढ्दै गएको छ ।
प्रदीप खड्काको 'दीपेन्द्र सरकार' देखि सौगात मल्लको 'फाटेको जुत्ता २' सम्म घोषणामै सीमित रहे । प्रायः फिल्मकर्मी दुई/चार दिन मिडिया आकर्षित गर्न नामै दर्ता नगरि र स्क्रिप्ट नै तयार नुहँदै फिल्म घोषणा गर्न हतारिन्छन् । अचेल फिल्म रिलिज अगावै सिक्वेल र फ्लप फिल्मको सिक्वेल घोषणा गर्न पनि लाज मान्दैनन् फिल्ममेकर्स ।
हुनत, वर्षमा सय बढी फिल्म रिलिज हुने गरेता पनि आधा दर्जन फिल्मले पनि लगानी सुरक्षित गर्न सक्दैनन् । यो बाटोबाट हेर्ने हो भने घोषणा गरेको फिल्म नबन्नुलाई निर्माताको चलाखी मान्न सकिन्छ । तर, फिल्म रिलिजको बेला ‘दर्शक मेरा भगवान हुन्’ भन्ने फिल्मकर्मीले घोषणा गरेको फिल्म नबनाउनु दर्शकको विश्वासमाथि कुठाराघात गर्नु हो ।
घोषणा भएका अनगिन्ती फिल्महरु गफैमा सीमित भइरहेको अवस्थामा निर्देशक सुदर्शन थापाले घोषणा गरेको फिल्म ‘म यस्तो गीत गाउँछु २’ पनि नबन्नुलाई अनौठो मान्न सकिन्न । तर, दर्शकले निकै विश्वास गरेका निर्देशकले दुईदिने चर्चाका लागि हतारमा गरेको निर्णयले भने उनीप्रति नै अविश्वास पैदा हुन थालेको छ । यो फिल्म बन्छ वा बन्दैन अहिले अन्योलमा छ ।
.jpg)
उनले करीब डेढ वर्ष अगाडि आफ्नो जन्मदिनमा अभिनेत्री पूजा शर्मा र अभिनेता पल शाहलाई नै लिएर हिट फिल्म ‘म यस्तो गीत गाउँछु’ को सिक्वेल बनाउने घोषणा गरेका थिए । अभिनेता सलोन बस्नेतको पनि अभिनय रहने बताइएको थियो । तर, विस्तारै पलसँग सम्बन्ध विग्रिएपछि सुदर्शनले यो प्रोजेक्ट थन्काए र अरु फिल्म भकाभक गरे ।
उनले उक्त फिल्मपछि 'रामकहानी' बनाए । अब ‘सम्हालिन्छ कहिले मन’ गर्दैछन् । तर, ‘म यस्तो गीत गाउँछु’ बन्ने वा नबन्ने विषयमा उनले मुख खोलेका छैनन् । केही महिना अगाडि पलले 'वीरविक्रम २' गर्नुभन्दा अगाडि फिल्मीखबरसँग कुरा गर्दै सुदर्शनको नयाँ फिल्म गर्न लागेको बताएका थिए । तर, ‘म यस्तो गीत गाउँछु’ को सिक्वेल नहुने उनको भनाइ थियो ।
सुदर्शनले भने पलको कुरालाई झुट बताए । पलले पनि जवाफमा भनिदिए, ‘फिल्म साइन गरेकै हो । अब मसँग फिल्म गर्न चाहनु हुन्न भने केही भन्दिनँ ।’ सुदर्शनको फिल्म गर्नका लागि थुप्रै फिल्म लत्याएका उनले आफूसँग सुदर्शनको फिल्म नगर्ने मुड बुझेपछि ‘वीरविक्रम २ र ‘हृदय भरी’ साइन गरेका थिए । अहिले पल, सुदर्शनको नाम समेत सुन्न नचाहने बताइन्छ ।
यद्यपि, मिडियासँगको साक्षात्कारमा भने उनी 'सुदर्शन दाईको आफू प्यारो भाई रहेको' र ‘म यस्तो गीत गाउँछु’ बन्ने रटान लगाउन छाड्दैनन् । सुदर्शन भने चुपचाप छन् । उनले घोषणापछि उक्त फिल्म न बन्छ भनेका छन् न त थन्कियो भनेर आत्मसर्मपण नै गरेका छन् । आखिर किन चुप छन् सुदर्शन ? नबन्ने भए बन्दैन भन्न किन गाह्रो हो कुन्नी ?

