Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘समर लभ’ निर्देशकको दाबी- ‘पुस्तकलाई फिल्मले न्याय गरेको छ’

फिल्मीखबर, काठमाण्डौ, 2019/01/30
नेपालमा आख्यानमाथि आधारित भएर थुप्रै फिल्म बनेका छन् । तर, अपवाद बाहेक अधिकांश फिल्मले उपन्यासमाथि न्याय गर्न सकेका छैनन् । अचेल उपन्यासको लोकप्रियता ‘क्यास’ गर्न मात्र फिल्म बन्ने गरेको आरोप लाग्दै आएको छ । यसबीच युवापुस्ताले सर्वाधिक मनपराएको पुस्तक ‘समर लभ’ माथि पनि फिल्म बनेको छ ‘समर लभ’ । यही माघ २५ गते फिल्म रिलिज हुँदैछ । 
 
आख्यानकार सुबिन भट्टराईको सर्वाधिक सफल उपन्यास हो यो । यो पुस्तक नपढेका व्यक्ति भेट्न गाह्रै पर्छ । सम्भवतः छैनन् पनि । पुस्तकका पात्र साया शाक्य र अतित शर्माको प्रेमभित्र आफूलाई भेट्ने युवापुस्ता धेरै छन् । साया र अतितबीचको प्रेम, रोदन, रोमान्स, विछोड, छट्पटि र मिलनलाई पाठकले आफ्नै हिसाबले दिमागमा दृश्य निर्माण गरेका छन् ।
 
 
उपन्यास सर्वाधिक रुचाइएका कारण फिल्ममाथि दर्शकको अपेक्षा धेरै छ । पुस्तक पढ्दा आँखामा नाच्ने दृश्य पर्दामा पनि दुरुस्तै होला वा नहोला भन्ने खुल्दुली पनि कम छैन । निर्देशक मुस्कान ढकाल भने फिल्मका पात्रमा दर्शकले अनि उपन्यास पढ्ने पाठकले आफैंलाई भेट्न सक्ने दाबी गर्छन् । उनी भन्छन्, ‘पुस्तकलाई न्याय गर्न नसकेको आरोप नलागोस् भन्नेमा सचेत छु ।’ 
 
फिल्ममा अतित शर्माको भूमिकामा आशिष पिया देखिएका छन् । सायाको भूमिका रेवता क्षेत्रीले निभाएकी छन् । सुस्मिताको भूमिकामा अभिनेत्री नम्रता श्रेष्ठलाई कास्ट गरिएको छ भने लेखकको भूमिकामा अभिनेता सुरजसिंह ठकुरी छन् । ट्रेलर र गीतसंगीतले फिल्मको लोकलाग्दो हाइप निर्माण गरेका कारण अब दर्शकलाई फिल्मको प्रतिक्षा छ ।
 
आशिषले अतितको भूमिकालाई न्याय गर्न आफूले सक्दो मेहनत गरेको बताउँछन् । ‘सबै पाठकको दिमागमा बसेको पात्र हो अतित । यसकारण पनि अतितको चरित्रलाई न्याय गर्नु सजिलो कुरा भने थिएन । यद्यपि, मैले प्रयास भने गरेको छु ।’ रेवताले सायाको चरित्रलाई न्याय गर्ने प्रयत्न गरेको बताइन् । अहिले उनी फिल्ममा दिएको बोल्ड सिनका लागि चर्चामा छिन् । 
Most Visited News (monthly)