माघ १८ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘गोपी’ को विषेश सो सोमवार राजधानीको कुमारी हलमा आयोजना गरिएको छ । प्रदर्शनको मुखमा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको विशेष सोमा फिल्मलाई सुखद प्रतिक्रिया मिलेको छ । विषेश सोबाट प्राप्त प्रतिक्रियाले उत्साहित बनाएको निर्देशक दीपेन्द्र लामाले बताएका छन् ।
.jpg)
विशेष सो पश्चात् अभिनेता दीपकराज गिरीले ‘गोपी’ हेर्न छुट्टै दृष्टिकोण लिएर आउनु पर्ने बताए । उनले भने, ‘किसानलाई एउटा गर्व गर्न लायकको फिल्म बनेको छ । कलाकारको अभिनय, कथावस्तु र निर्देशकीय पक्ष अब्बल छ ।’ निर्देशक दीपाश्रीले विषयवस्तु अनुसार फिल्म कलात्मक रहेको बताइन् ।
हास्यकलाकार केदार घिमिरे (माग्ने बुढा) ले फिल्मको कथावस्तु मन परेको बताए । उनले भने, ‘भन्नलाई हाम्रो देश कृषिप्रधान भनिन्छ तर अहिले पासपोर्टप्रधान भइसकेको छ । फिल्ममा कृषकको समस्या पनि सटिक ढंगले देखाइएको छ । यो फिल्मले देशमै केही गर्न उत्प्रेरणा चाहिँ जगाउँछ ।’
.jpg)
अर्का हास्यकलाकार जीतु नेपालले ‘गोपी’ नेपाल सरकार, कृषि मन्त्रालयले बनाउनु पर्ने फिल्म रहेको बताए । ‘अब कृषि मन्त्रालयसँग के छ भन्दा ‘गोपी’ फिल्म छ भन्ने चाहिँ हुन्छ’, उनले भने । चर्चित संगीतकार अर्जुन पोखरेलले पनि फिल्मको प्रशंसा गरे । उनले आफूलाई पनि संगीतको गोपी भन्न रुचाए ।
नेता योगेश भट्टराई, पुर्व संचार मन्त्री मोहन बस्नेत, नेत्री नविना लामा, प्रहरी महानिरीक्षक सवेन्द्र खनाललगायतले नेपाली मौलिक कथा बोकेको फिल्म हेर्न पाएकोमा खुसी ब्यक्त गरे । सम्भावनाको खोजी गर्न सके नेपालमै बसेर आर्थिक रुपमा सवल बन्न सकिने सन्देश फिल्मले दिएको उनीहरुको भनाइ छ ।
.jpg)
फिल्ममा अभिनेता विपिन कार्की टाइटल क्यारेक्टरमा छन् । वर्षा राउत, सुरक्षा पन्त, भोला सापकोटा, अंकित खड्का, प्रकाश घिमिरे, रमेश अधिकारी, कुन्ती सिमलीलगायतका कलाकारहरुको पनि अभिनय छ । आरोही केसी निर्माता रहेको फिल्ममा श्रीधर पौडेल कार्यकारी निर्माताको रुपमा छन् ।

