Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

वर्षा भन्छिन्, ‘संजोगको घरमा नोकर हुन जान लागेको होइन’

फिल्मीखबर, काठमाण्डौ, 2019/01/29
अभिनेत्री वर्षा राउत र अभिनेता तथा व्यवसायी संजोग कोइराला चाँडै जीवनको नयाँ अध्याय सुरु गर्दैछन् । करीब ७ वर्ष लामो प्रेम सम्बन्धलाई उनीहरु विवाहमा परिणत गर्दैछन् । प्रेम गर्नेहरुका लागि विशेष दिन अर्थात् भ्यालेन्टाइन डे (फागुन २ गते) को दिन दुईले अग्नीलाई साक्षी राखेर सात जन्मसम्म सँगै रहने कसम खाँदैछन् । 
 
केही दिन अगाडि सामाजिक सञ्जालमा एक निमन्त्रणा कार्डमार्फत् उनीहरुले विवाहको मिति घोषणा गरेका थिए । अहिले दुबै विवाहको तयारीमा जुटेका छन् । दुईको भेट ७ वर्ष अगाडि एक फिल्मको अडिसनको क्रममा भएको थियो । त्यस भेटपछि उनीहरु एकअर्कासँग नजिक भएका थिए ।
 
अहिले अभिनेत्री वर्षालाई फिल्ममा भ्याइनभ्याइ छ भने संजोग फिल्मभन्दा बढी आफ्नो व्यवसायमा व्यस्त छन् । वर्षा अभिनीत नयाँ फिल्म 'गोपी' यही माघ १८ मा रिलिज हुँदैछ । संजोग अभिनीत फिल्म 'कथा काठमाण्डू' गएको महिना प्रदर्शनमा आएको थियो । फिल्म 'एउटा यस्तो प्रेम कहानी' मा दुबैले पहिलो पटक सँगै काम गरेका छन् ।
 
 
विवाहपछि वर्षाले फिल्म गर्छिन् वा गर्दिनन् भन्ने थुप्रैले जिज्ञासा राखिरहेका छन् । वर्षा भने आफू विवाहपछि पनि फिल्म गर्न नछाड्ने बताउँछन् । सोमवार फिल्म 'गोपी' को स्पेशल सोमा संजोगसँग पुगेकी वर्षाले सञ्चारकर्मीसँग भनिन्, 'मेरो पेशा बुझ्ने घरमा जाँदैछु । मलाई विवाहपछि पनि काम गर्न कुनै रोकथोक हुने छैन भन्नेमा ढुक्क छु ।' 
 
संजोगको घरमा 'वर्किङ भिसा' मा जान लागेको र स्वाभलम्बी अभिनेत्री अर्काको घरमा गृहणी बन्न लागेको प्रशंसकको केही कमेन्टले दुःखी वर्षा अगाडि भन्छिन्, 'नोकर हुन जान लागेको होइन । एउटा बुहारी भएर जान लागेको हुँ ।' संजोगले पनि विवाहपछि वर्षाले फिल्म गर्ने स्पष्ट पारे । 
 
उनले मिठो शैलीमा भने, 'संजोग कोइरालाको परिवारले कामलाई धर्म मान्छ । त्यसैले वर्षाको धर्म परिवर्तन गर्दैन । विवाहपछि त झन् उनले उत्कृष्ट फिल्म गर्छिन् ।' चुलबुले स्वभावकी वर्षाले विवाह खर्च भने दुबै पक्षको जोडेर एउटा राम्रो फिल्म बनाउन पुग्ने बताइन् । उनले भनिन्, 'मेरो र संजोगको जोडेर एक करोड त छुन्छ होला ।' 
Most Visited News (monthly)