Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

भविष्यमा गाई पालेर बस्न सक्छु : विपिन कार्की

फिल्मीखबर, काठमाण्डौ, 2019/01/28
अभिनेता विपिन कार्कीका लागि हरेक फिल्ममा फरक भूमिका अपरिहार्य हुन्छ । ‘छड्के’ देखि पछिल्लो रिलिज फिल्म ‘प्रसाद’ सम्म हेर्ने हो पनि यो कुरा प्रमाणित हुन्छ । उनले कुनै फिल्ममा एकैखाले लाग्ने भूमिका गरेका छैनन् । उनी प्रायः क्यारेक्टर र लुक्समा 'एक्सपेरिमेन्ट' गरिरहेका हुन्छन्, जसले उनलाई आम अभिनेताभन्दा अलग बनाएको छ । 
 
‘छड्के’ मा विन्दू माझी, ‘ताण्डव’ मा रक्साहा ड्राइभर, ‘सुन्तली’ मा चोर र ‘हरि’ मा उनले एकै फिल्ममा चार चरित्र निभाए । साथै, ‘प्रसाद’ मा उनले निःसन्तान श्रीमानको भूमिका निभाएर वाहवाही बटुले । अब नयाँ फिल्म ‘गोपी’ मा विपिन एक गाईपालकको चरित्रमा प्रस्तुत छन्, जुन फिल्म माघ १८ मा आउँदैछ । 
 
उनी उक्त फिल्ममा अभिनय गर्न गाह्रो नभएको बताउँछन् । विगत सम्झँदै उनी भन्छन्, ‘कुनै समय गाईका लागि घाँस काटेँ, दुध दोहेँ, कुँडो पकाएँ, दुध बोकेर डेरी पुगेँ । यसकारण पनि ‘गोपी’ मा गाईपालकको भूमिका निभाउन गाह्रो महशुस भएन । बरु, मलाई जीवनको नजिक पुगेको आभाष भयो ।’ उनी भविष्यमा गाई पालेर बस्न सक्ने पनि बताउँछन् । 
 
 
उनी यो फिल्मका लागि पहिलो रोजाइ भने थिएनन् । उनीभन्दा अगाडि फिल्ममा अभिनेता खगेन्द्र लामिछाने फाइनल भएका थिए । तर, फ्लोरमा निस्कन एक हप्ता बाँकी रहँदा उनले फिल्म नगर्ने निधो गरे र रातारात विपिनलाई निर्माण टिमले अनुबन्ध गर्‍यो । विपिन हतारमा फिल्म गर्ने निर्णय लिनु परेको भएता पनि कथावस्तुले तानेर फिल्म गर्न तयार भएको बताउँछन् । 
 
उनले एकै बसाइमा फिल्मको स्क्रिप्ट पढिसकेका थिए । पत्रकारसँगको एक भेटमा उनले भने, ‘मैले आजसम्म कुनै फिल्मको स्क्रिप्ट एकै बसाइमा पढिसकेको थिएन । करीब ३ घण्टामा ‘गोपी’ को स्क्रिप्ट पढिसकेको थिएँ । स्क्रिप्ट पढेपछि लाग्यो कि यो फिल्म छाड्नुहुन्न । किनकि, स्टोरीले मेरो मन छोयो अनि फिल्म गर्न राजी भएँ ।’
 
फिल्म गर्ने निर्णय छिटै लिए पनि कामबाट सन्तुष्ट रहेको उनको भनाइ छ । ‘मैले आफ्नो चरित्रलाई न्याय गर्न सकेँ वा सकिनँ त्यो त अब दर्शकले फिल्म हेरेपछि भन्नुहुनेछ । तर, म यो फिल्म गरेर सन्तुष्ट छु’, उनले सुनाए । उनी ‘गोपी’ गर्नुको पछाडि फरक कथावस्तु रहेको बताउँछन् । ‘यसै पनि म फरक कथामा काम गर्न रुचाउँछु र ‘गोपी’ मैले खोजे जस्तै पाएँ’, उनले भने । 
 
अभिनेता कार्की ‘गोपी’ जस्तो फरक विषयवस्तुमा फिल्म बन्न आवश्यक रहेको पनि औंल्याउँछन् । यो फिल्मलाई ‘घामपानी’ फेम्ड निर्देशक दीपेन्द्र लामाले निर्देशन गरेका हुन् । उनले यस फिल्मले स्वदेशमै नीजि व्यवसाय गरेर बस्ने/चाहने युवाहरुलाई प्रोत्साहन गर्ने बताए । फिल्म समीक्षक समेत रहेका उनी फिल्मको समीक्षा गर्नुभन्दा फिल्म बनाउन अत्यन्त गाह्रो रहेको पनि बताउँछन् । 
 
‘गोपी’ मा अभिनेत्री द्वय वर्षा राउत र सुरक्षा पन्त, विपिनको प्रेमिकाको रुपमा छन् । अंकित खड्का, भोलाराज सापकोटालगायतका कलाकारहरु पनि फिल्ममा छन् । आरोही केसी निर्माता रहेको फिल्ममा सञ्चारकर्मी श्रीधर पौडेल कार्यकारी निर्माताको रुपमा रहेका छन् । सामिप्यराज तिमल्सिनाको स्क्रिनप्ले रहेको उक्त फिल्मलाई शैलेन्द्र डि. कार्कीले खिचेका हुन् ।
Most Visited News (monthly)