अभिनेता अनमोल केसीले ४५ लाख पारिश्रमिकमा साइन गरेर पनि गएको दुई हप्ता अगाडि एग्रिमेन्ट पेपर फिर्ता गरेको फिल्म ‘ब्याचलर बन्टी’ अब निर्देशक मिलन चाम्सले पनि नगर्ने भएका छन् । अनमोलले रोल चित्त नबुझेको कारण देखाउँदै फिल्म छाडे लगत्तै निर्देशक चाम्सले पनि फिल्म निर्देशनबाट हात झिकेका छन् ।
फिल्मीखबरसँगको फोनर्वार्तामा उनले भने, ‘अब कुनै पनि हालतमा म ‘ब्याचलर बन्टी’ गर्दिनँ ।’ उनी चाँडै आफू निर्देशित हिट फिल्म ‘बोबी’ को दोस्रो पार्ट निर्माण गर्दैछिन् । चैतबाट फिल्मको छायांकन सुरु गर्ने उनको तयारी छ । यसपछि उनको पाइपलाइनमा अझै तीन फिल्म छन् ।
(1).jpg)
उनी मिडियाप्रति दुखेसो पोख्दो भन्छन्, ‘यहाँ मिडियाले पनि ‘स्टार’ कै मात्र कुरा सुन्ने रहेछ । मिडियामा अनमोलको भनाइ मात्र आयो तर निर्देशक र निर्माताको भनाइ बुझ्न आवश्यक ठानिएन । ‘ब्याचलर बन्टी’ अनमोलले छाड्नुको वास्तविक कारण भुवन दाई (भुवन केसी), अनमोल र मलाई मात्र थाहा छ ।’
यो फिल्म चलचित्र विकास बोर्डमा निर्देशक चाम्स र निर्माता सुदीप खड्काको ब्यानरमा दर्ता छ । अब निर्देशक चाम्सले फिल्म नगर्ने भएपछि निर्माता सुदीपले भने ‘ब्याचलर बन्टी’ कै स्क्रिप्टमा अभिनेता प्रदीप खड्कालाई लिएर यसअघि नै विकास बोर्डमा दर्ता भएको टाइटल ‘सोलीडोली’ बनाउन लागेको चर्चा छ ।
केही दिन अगाडि फिल्मीखबरले निर्माता खड्काले अभिनेता प्रदीपलाई ‘ब्याचलर बन्टी’ अफर गरेको खुलासा गरेको थियो । दुईबीच फिल्मलाई लिएर केही पटक कुरा समेत भइसकेको छ । प्रदीप फिल्म गर्न राजी भए निर्माता खड्का ‘ब्याचलर बन्टी’ को स्क्रिप्टमा फिल्म ‘सोलिडोली’ बनाउन तयार छन् ।
तर, प्रदीपलाई फिल्म अफर गरेको विषयमा निर्देशक चाम्स भने अनविज्ञ रहेछन् । फेसबुकमा एक स्टाटस लेख्दै उनले भनेका छन्, ‘कसले कुन नायकलाई फिल्म अफर गर्छ त्यो मलाई पत्तै हुन्न । तर, मलाई मुछ्ने काम नगरौं न प्रभु ।’ उनले अहिले आफूले घरकै प्रोजेक्ट गर्नुपर्ने बताएका छन् ।
विशेष स्रोतका अनुसार, ‘ब्याचलर बन्टी’ अनमोलले नगर्ने भएपछि निर्माता सुदीप र स्क्रिप्ट राइटर प्रदीप भारद्वाजसँग मिलनको सम्बन्ध राम्रो छैन । यसअघि प्रदीपले लेखेको कथामा बनेको फिल्म 'लिलिबिली' मा मिलन र सुदीपले सहकार्य गरेका थिए । अब ‘ब्याचलर बन्टी’ को लफडाले उनीहरु दुई ध्रुव भएका छन् ।

