दर्शकको नाडी छामेर मनछुने लभस्टोरी फिल्म बनाउन सिपालु मानिने निर्देशक सुदर्शन थापाको ११ औं प्रोजेक्ट ‘सम्हालिन्छ कहिले मन’ को औपचारिक निर्माण घोषणा गरिएको छ । आइतबार राजधानीमा एक कार्यक्रमका बीच निर्माण टिमले फिल्मका कलाकार र प्राविधिकलाई पत्रकारमाझ चिनायो ।

सम्पूर्ण छायांकन यूकेमा हुने यस फिल्ममा अभिनेत्री पूर्जा शर्माले अभिनेता द्वय आकाश श्रेष्ठ र सोनम तोप्देनसँग रोमान्स गर्दैछिन् । आकाशसँग यसअघि उनले 'रामकहानी' मा काम गरेकी थिइन् भने सोनम नेपाली फिल्मका लागि नयाँ अनुहार हुन् । फिल्म पूर्ण रुपमा लभस्टोरी कथामा निर्माण हुनेछ ।

गौरी मल्ल, सरोज खनाल, धिरेन शाक्यलगायतका कलाकारहरुको पनि फिल्ममा अभिनय रहनेछ । महेश दवाडीको कथामा आधारित भएर निर्माण हुने फिल्मका गीतमा अर्जुन पोखरेल, सुगम पोखरेल र ताराप्रकाश लिम्बुले संगीत भरेका छन् । फिल्मलाई सौरभ लामाले खिच्दैछन् ।

कार्यक्रममा बोल्दै अभिनेत्री पूजाले ‘सम्हालिन्छ कहिले मन’ मा दर्शकलाई ‘मिस’ भइरहेको ‘प्रेमगीत’ को ‘गीत’ को क्यारेक्टरभन्दा पनि रमाइलो रहेको बताइन् । उनले भनिन्, ‘मलाई यसअघिका फिल्ममा भन्दा यसमा विल्कुलै फरक भूमिकामा देख्न पाउनुहुन्छ ।’ उनले फिल्ममा सोनम आफ्नो रोजाइ रहेको पनि खुलाइन् ।
.jpg)
अभिनेता आकाशले भने दोस्रो पटक आफूलाई विश्वास गरेर फिल्ममा रोजेकोमा निर्देशक सुदर्शनलाई धन्यवाद दिए । उनी भन्छन्, ‘म आफूले पाएको भूमिकालाई न्याय गर्न कुनै कसर बाँकी राख्ने छैन । फेरि दर्शकको माया पाउँछु भन्नेमा विश्वस्त छु ।’ अर्का अभिनेता सोनमले फिल्ममा उत्कृष्ट काम पस्किन सक्दो मेहनत गर्ने बताए ।

कविराज गहतराजको कोरियोग्राफी रहने फिल्म अमित कुमार बस्नेतको निर्माणमा बन्न लागेको हो । फिल्ममा परि राना र अजित कुमार थापा सह-निर्मातामा छन् भने अंकित गौतम कार्यकारी निर्मातामा छन् । गायक सुगम पोखरेलको चर्चित गीत ‘सम्हालिन्छ कहिले मन’ बाट फिल्मको नाम सापटी लिइएको हो ।

