अभिनेता पल शाह र अभिनेत्री आँचल शर्मा एकअर्कालाई डेट गरिरहेको चर्चाले सिनेवृत गर्माउन थालेको लामै समय भइसकेको छ । तर, यी दुईले आफूहरु 'बेस्ट फ्रेण्ड' मात्र रहेको रटान लगाउन छाडेका छैनन् । लगातार तीन फिल्म र सयको आसपासमा म्यूजिक भिडियो गरिसकेका उनीहरु अहिले भने छुट्टाछुट्टै फिल्ममा आबद्ध भइरहेका छन् ।
पल अहिले 'वीरविक्रम २' को छायांकनमा व्यस्त छन्, जसमा उनको अपोजिटमा वर्षा सिवाकोटी छिन् । अर्को फिल्म 'हृदय भरी' मा नव-अभिनेत्री श्रद्धा क्षेत्री छिन् । उता आँचलले फिल्म 'ब्ल्याक' मा अभिनेता आकाश श्रेष्ठसँग काम गरिन् भने आउँदो बैशाख १३ गते दर्शक भेट्न लागेको फिल्म 'दाल भात तरकारी' मा पुष्पल खड्का हिरो छन् ।
(1).jpg)
फिल्म साथमा नगर्दा पनि पल र आँचलको प्रेम चर्चा अझै कम भएको छैन । दुईलाई लिएर प्रायः दिनहुँजसो मिडियामा गसिपहरु बनिरहेका हुन्छन् । पत्रकार भेटघाटमा पनि एकअर्काको प्रश्नबाट उम्कन पाउँदैनन् उनीहरु । तर, दुबै साथीभन्दा माथिको सम्बन्ध नभएको बताउन छाड्दैनन् । हालै पलको एक फेसबुक स्टाटसले भने उनीहरुबीच गहिरो प्रेम रहेको संकेत गर्छ ।
शुक्रवार फिल्म 'दाल भात तरकारी' को गीत सार्वजनिक कार्यक्रममा पत्रकार र आँचलबीच ठूलै चर्काचर्की परेको थियो । केही दिन अगाडि 'दाल भात तरकारी' टिमले फिल्मको विषयभन्दा बाहेकको मुद्धामा अन्तर्वार्ता दिन आफूलाई निषेध गरेको आँचलले बताएकी थिइन् । तर, यो कुरा सत्य नभएको फिल्मका प्रस्तुतकर्ता किरण केसीले बताएपछि आँचलले पत्रकारसँग माफी नै मागिन् ।
'तपाईंको मुड अनुसार चल्नु पर्ने हो ? तपाईंलाई बोल्न मन लागे बोल्ने, मन नलागे नबोल्ने हो ?' भन्दै आक्रोशित मुद्रामा पत्रकारले लगातार उनीमाथि प्रश्न गरेका थिए । कलाकारका लागि दाल भात छाडेर खट्ने पत्रकारलाई सम्मान गर्न आग्रह गरेपछि आँचलले केही डराएको भावमा फिल्मको जम्बो टिमको समक्ष पत्रकारसँग माफी मागेकी थिइन् ।
तर, आँचलले पत्रकारसँग माफी माग्दा सबैभन्दा बढी पीडा अभिनेता पल शाहलाई भएको छ । उनले आँचलको पक्ष लिँदै आफ्नो आधिकारिक फेसबुकमार्फत् माफी मगाउँदै र माग्दैमा समस्याको हल नहुने बताएका छन् । कलाकारसँग प्रस्तुत हुन पत्रकारले सिक्न आवश्यक रहेको पनि उनले स्टाटसमा भनेका छन् ।
उनले लेखेका छन्, '११/१२ बजेसम्म एयरपोर्टमा इन्टरभ्यूको लागि बस्नु भनेको उहाँहरु आफैंको जागिर थियो । त्यो बुज्न जरुरी छ । कलाकारको लागि हामी रातभरी एयरपोर्टमा बस्यौं भनेर गर्जिनु कति उपयुक्त होला ?' उनको यस स्टाटसले कलाकारलाई पत्रकार नचाहिने भाव व्यक्त गर्छ ।
पलले वास्तविकताको गहिराइमा नै नपुगी स्टाटस लेखेको देखिन्छ । आँचलले माफी माग्नुको कारण के थियो ? त्यो नै नबुझी उनी स्टाटसमा गर्जिएका छन् । टिमले नै नभनेको कुरा आफैंले बनाएर भनेपछि आँचलले सबैको सामु माफी मागेकी थिइन् । हुनत, प्रेम र युद्धमा सबै कुरा जायज हुन्छ भनिन्छ । पलले पनि आँचलको गल्तीलाई सही देखेका पो हुन् कि !
उक्त स्टाटसबाट उनले पत्रकारमाथि रिस पोखेर आँचलप्रति प्रेम दर्शाएका हुन् भन्ने बुझ्न गाह्रो छैन । तर, मध्यरातीसम्म एयरपोर्टमा इन्टरभ्यूका लागि बस्नु भनेको पत्रकारको जागिर हो भन्दैमा कलाकारले पत्रकारको सम्मान गर्नु नपर्ने हो ? वा, अन्तर्वार्ता लिन पत्रकार एयरपोर्ट पुग्नु भनेको कलाकारप्रति अपमान हो ? बुझ्न गाह्रो पर्यो त नायकज्यू ?

