
केही समययता बलिउडमा एकपछि अर्को स्टारकिड्स डेब्यु गरिरहेका छन् । नयाँ व्यक्तिको प्रवेश पनि बढ्दै गएको छ । गएको वर्ष २०१८ मा हिन्दी फिल्ममा धेरैले पाइला राखे र सफलता पनि पाए । अब अभिनेता परेश रावलका छोरा आदित्य रावलले पनि चाँडै फिल्ममा आफ्नो अभिनयको जादू देखाउने भएका छन् ।
परेशका छोरा आदित्यलाई अनुराग कश्यपले लञ्च गरेका हुन् भने फिल्मको नाम 'बमफाड' हो । यो फिल्ममा उनको अपोजिटमा 'अर्जुन रेड्डी' फेम अभिनेत्री शालिनी पाण्डे देखिनेछिन् । फिल्म यूपीको इलाहाबादको एक प्रेमकहानीमा आधारित हुनेछ । यो फिल्मको गुपचुपमै छायांकन सकिसकेको छ ।
अनुराग कश्यपले नभएर यस फिल्मलाई रञ्जन चान्डेलले निर्देशन गरेका हुन् । यो उनको पहिलो निर्देशित फिल्म हो । अनुरागको होम प्रोडक्सनमा फिल्म निर्माण भएको हो । यस वर्षको मध्यतिर फिल्म रिलिज गर्ने तयारी रहेको बताइएको छ । आदित्य डेब्यु फिल्मबाट निकै आशावादी देखिएका छन् ।
निर्देशक रञ्जन भन्छन्, ‘‘बमफाड’ का लागि आदित्य र शालिनी बेस्ट च्वाइस हुन् । हामीले कयौं अनुभवी कलाकारसँग कुरा गर्यौं तर अन्तिममा उनीहरुमै गएर रोकियौं । हामीले फ्लोरमा जानुभन्दा अगाडि एक महिना वर्कसप गर्यौं । दुबै निकै राम्रो कलाकार हुन् र प्रोजेक्टमा निकै इन्भल्व छन् ।’’

