अभिनेत्री आँचल शर्मा, अब यो नामलाई चिनाउन आवश्यक छैन । फिल्म करियर सुरु गरेको छोटो समयमै उनले चर्चा र सफलता दुबैसँग ठूलो संघर्ष बिनै साक्षात्कार गर्न पाइन् । डेब्यु फिल्म 'नाइँ नभन्नू ल ४' हिट भएसँगै उनलाई नेपाली फिल्म क्षेत्रले सम्भावना बोकेको अभिनेत्रीको रुपमा हेर्यो । र, अभिनेता पल शाहसँग नाम जोडिएपछि उनी चर्चामा रहिन् ।
जेजसरी भए पनि उनले आफूलाई अभिनेत्रीको रुपमा स्थापित गरिसकेकी छिन् । तर, अझै उनले अभिनयमा विविधता पस्कन नसकेको आरोप छ । पलसँग जोडिएर हुने चर्चा र दुई फिल्मको सफलताले बढाएको धेरथोर व्यस्ततामै उनी आफूलाई शक्तिशाली अभिनेत्री महशुस गर्न थालेकी छन् । जुन कुरा अचेल उनको बोलीमा झल्किन्छ ।

आजकाल उनी आफ्नो बोलीका कारण खुबै आलोचित र विवादित बन्ने गरेकी छन् । 'शत्रु गते' को एक पत्रकार भेटघाटमा ‘युट्युबको टाइटलका लागि बोल्दिनँ’ भन्दै जंगिएपछि उनको जमेरै आलोचना भयो । फिल्म रिलिज लगत्तै अब 'शत्रु गते' जस्ता हुलमुलका फिल्म नगर्ने घोषणा गरिन् । सो निर्णयलाई कतिपयले उनले आफ्नै खुट्टामा बञ्चरो हानेको रुपमा ब्याख्या गरे ।
तर, हुलमुलका फिल्म नगर्ने भनेको ६ महिना नवित्दै पुनः हुलमुलकै फिल्म 'दाल भात तरकारी' साइन गरिन् र शुभ मुहूर्तमा पत्रकारले आफ्नो बदनाम गर्न खोजेको बताउँदै आफूले हुलमुलका फिल्म नगर्ने कहिल्यै नभनेको भन्दै चोखो बन्न खोजिन् । हुनत, बोलीमा टिक्न नसकेपछि आफू ओभानो बन्न आँचलले योभन्दा अरु के नै पो गर्न सक्थिन् र !
केही दिन अगाडि उनले तत्काल अन्य विषयमा बोल्न ‘दाल भात तरकारी’ टिमले निषेध गरेको बताइन् । शुक्रवार उक्त फिल्मको गीत सार्वजनिक कार्यक्रममा यस कुरालाई लिएर आँचल र पत्रकारबीच ठूलै घम्साघम्सी पर्यो । तर, कुनै कलाकारलाई बोल्न निषेध नगरेको फिल्मका प्रस्तुतकर्ता किरण केसीले बताएपछि आँचल अक्क न वक्क भइन् ।
उनले भनिन्, ‘कहिले केही गर्दा पनि गाली पाइन्छ त कहिले केही नगर्दा पनि गाली पाइन्छ । म प्रायः म्यूजिक भिडियोहरु गरिरहेको हुन्छु । कतिले अब म्यूजिक भिडियो कम गर्न सुझाव दिनुहुन्छ । हुन पनि फिल्म रिलिजको बेला भिडियो आउँदा दर्शक पनि कन्फ्यूज हुन्छन् । त्यसैले फिल्म रिलिजको बेला भिडियो नगर्ने र अन्य विषयमा अन्तर्वार्ता दिन्न भनेको हुँ ।’
उनले निकै मेहनत गरेर फिल्म ‘दाल भात तरकारी’ गरेका कारण तत्काल अन्य विषयमा बोल्न नचाहेको बताइन् । ‘फिल्म रिलिजको बेला कुनै मेरो अन्तर्वार्ताहरु युट्युबमा आइरहँदा मेरा दर्शकलाई 'मोनोटोनस' फिल हुन्छ कि भनेर मैले अन्य विषयमा अन्तर्वार्ता दिन्न भनेको थिएँ’, उनले स्पष्ट पारिन् ।
उनले आफ्नो कुरा पूरा गर्न नभ्याउँदै एक पत्रकारले प्रश्न सोझ्याए- तपाईको मुड अनुसार पत्रकार चल्नु पर्ने हो ? पत्रकार केही आक्रोशित देखिन्थे । उनले पत्रकारलाई शान्त रुपमा प्रश्न गर्न आग्रह गरिन् । 'कति आक्रोशित हुनुभएको ? अलि नरमसँग सोध्नुस् न । हामीलाई डर लाग्दैन ?', उनले केही डराएको भावमा भनिन् । हल हाँसोले गुञ्जियो ।

ठूलै घम्साघम्सी हुन थालेपछि बरिष्ठ हास्यअभिनेता हरिवंश आचार्यले आँचललाई माफी मागेर कुरा विर्सजन गर्न आग्रह गरे । उनले ‘गल्ती भएको भए माफी चाहन्छु’ भनिन् । तर, पत्रकार रोकिएनन् । 'तपाईका लागि पत्रकारले दाल भात छाडेर दिनरात खट्छन् । कृपया मिडियाको सम्मान गर्दिनुहोला ?' पत्रकारको आग्रहलाई आँचलले बैशाख १३ गते दात भात खुवाउने भन्दै हलुका जवाफ दिइन् ।
पटक-पटक आफ्नो अभिव्यक्तिका कारण आलोचित र विवादित बन्ने गरेकी उनी आफ्नो गल्ती स्वीकार गर्ने र आत्मलोचना गर्ने पक्षमा कहिल्यै देखिन्नन् । बरु, अरुलाई गल्ती देखाएर आफू चोखो बन्न चाहन्छिन् । हुनत, फिल्म क्षेत्रमा एउटा कहावत निकै चर्चित छ- 'बदनाम हुनु तर गुमनाम नहुनु ।' आँचलको उद्देश्य कतै यही त होइन ? विवादमै रहेर मिडियामा छाइरहने ?

