Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

‘क्याप्टेन’ गीतमा अनमोलसँग निरुता र भुवन नाच्ने

फिल्मीखबर, काठमाण्डौ, 2019/01/26
फागुन १७ गतेबाट प्रदर्शनमा आउन तयार रहेको अभिनेता अनमोल केसी स्टारर फिल्म ‘क्याप्टेन’ को प्रतिक्षा दर्शकमा झनै व्यग्र भएको छ । कारण, यस फिल्ममा एक जमानाकी चर्चित अभिनेत्री निरुता सिंह पनि देखिने भएकी छन् । फिल्मको एक लोकलयको गीतमा उनले अनमोलसँग पहिलो पटक स्क्रिन साझेदारी गर्न लागेकी हुन् । 
 
केही दिनमा छायांकन हुने गीतमा अभिनेता भुवन केसी पनि देखिनेछन् । करीब ८ वर्षपछि उनी पर्दामा देखिन लागेका हुन् । गीतमा उनको जोडी निरुता हुनेछिन् । गीतको छायांकनका लागि निरुता मुम्बईबाट शुक्रवार साँझ काठमाडौं उत्रिएकी छन् । उनलाई स्वागत गर्न अभिनेता भुवन त्रिभुवन विमानस्थलमै पुगेका थिए ।
 
विमानस्थलबाट बाहिरिँदै गर्दा निरुताले अनमोलसँग कुनै रोल गर्ने इच्छा भए पनि गीतमा सँगै नाच्ने भन्ने चाहिँ कहिल्यै नसोचेको बताइन् । यस वर्ष ‘एनएफडिसी अवार्ड’ मा फिल्म ‘कृ’ बाट अनमोललाई उत्कृष्ट अभिनेताको अवार्ड थमाएकी निरुताले खुसी हुँदै भनिन्, ‘अनमोलसँग काम गर्न म निकै उत्साहित छु ।’ 
 
 
उनले वर्षौपछि पुरानो जोडी (भुवन केसी) सँग स्क्रिन साझेदारी गर्न लाग्दा अझ धेरै उत्साहित रहेको बताइन् । उनले भुवनको लिड रोल रहेको फिल्म 'दक्षिणा' बाटै अभिनय यात्रा सुरु गरेकी थिइन् । यसपछि दुईले 'दुनियाँ' लगायतका केही फिल्ममा सँगै काम गरेका थिए । अब वर्षौपछि ‘क्याप्टेन’ को गीतमा दुईको जोडी बाँधिदैछ । 
 
भुवनले अनमोलको आग्रहमा निरुतालाई गीतमा अभिनय गर्नका लागि अफर गरेको बताए । उनले भने, 'अनमोलको आग्रहपछि मैले निरुतासँग कुरा गरेँ र उनी तयार पनि भइन् । अनमोलकै आग्रहमा म पनि गीतमा देखिन लागेको छु । अब ‘क्याप्टेन’ को गीतमा निरुता, अनमोल र म साथ देखिने छौं ।' 
 
दशक अगाडि निरुतासँग काम गर्दाको दिन पनि सम्झिँदै भुवन भन्छन्, ‘‘दक्षिणा’ गर्दा हामी उसलाई खुब जिस्काउँथ्यौं । त्यसबेला नै मैले उनी निकै राम्रो र सफल कलाकार हुन्छिन् भनेको थिएँ ।’’ निरुताले पनि भुवनलाई फुर्क्याउन पछि परिनन् । उनले आफू स्कुल पढ्दादेखि नै ठूलो फ्यान रहेको बताइन् । 
 
करीब एक दशकपछि यस वर्ष प्रदर्शनमा आएको फिल्म 'नाइँ नभन्नू ल ५' बाट कमब्याक गरेकी निरुताको लिड रोल रहेको नयाँ फिल्म 'दाल भात तरकारी' बैशाख १३ मा रिलिज हुँदैछ । यो फिल्ममा उनी हरिवंश आचार्यको श्रीमतीको भूमिकामा छिन् । कमब्याकपछि उनले भकाभक चरित्र अभिनेत्रीको भूमिका गरिरहेकी छन् ।
 
हालै उनले निर्देशक विकासराज आचार्यको नयाँ फिल्म 'हजार जुनीसम्म' छाडिन् । यो फिल्म गर्न उनले ५ लाख पारिश्रमिक मागेकी थिइन् ।  विमानस्थलमा पत्रकारले महँगो पारिश्रमिक माग गरेको विषयमा यथार्थ जान्न खोजे । उनले आफ्नो कामको कदर गर्नेलाई उक्त पारिश्रमिक ठूलो नहुने बताइन् । 
 
विगतमा आफूले पारिश्रमिक बढाउँदा इन्डस्ट्री छाड्न लागेको चर्चा हुने गरेको सम्झिँदै उनले भनिन्, 'अहिले मलाई यहाँ आएर एकदम स्थापित हुनु छैन । म काम गर्छु । मेरो कामको कदर जसले गर्छ र जसले मैले भनेको कामको पारिश्रमिक दिन्छ म त्यसैको गर्छु । नभए कसैलाई जबरजस्ती छैन मलाई लिनुपर्छ भन्ने ।'
Most Visited News (monthly)