.jpg)
दर्शक र समीक्षकको नजरमा उत्कृष्ट ठहरिनुका साथै बक्सअफिसमा पनि राम्रो पैसा छापेको यस वर्षको हिट फिल्म ‘प्रसाद’ को नेपाल चलचित्र कलाकार संघको सहयोगार्थ च्यारिटी सो भएको छ । निःसन्तान दाम्पतीको जीवनमा आउने उचारचढाव समेटिएको फिल्मको बिहीवार च्यारिटी गरिएको हो ।
.jpg)
काठमाडौंको कमलपोखरी स्थित सिटी सेन्टरको बिग मुभिजमा भएको च्यारिटीमा कलाकारहरुको बाक्लो उपस्थिति रहेको थियो । संघकी कोषाध्यक्ष विमला केसीको संयोजकत्वमा भएको च्यारिटीबाट संकलित रकम संघको कोषमा नै राखिने र कलाकारहरुको हक–हितका लागि खर्चिने बताइएको छ ।
.jpg)
फिल्मका निर्देशक दिनेश राउत , लेखक शुशील पौडेल र निर्माता सुवास थापा पनि च्यारिटी सोमा उपस्थित थिए । फिल्म हेरेपछि अधिकांशले निर्देशकको निर्देशकीय पक्ष, कथावस्तु र कलाकारको अभिनयको मुक्तकण्ठले प्रशंसा गरेका थिए । निर्देशक राउतले कलाकारबाट पाएको प्रतिक्रियाबाट अत्यन्त खुसी भएको बताए ।
.jpg)
रेजिना उप्रेती, शिव श्रेष्ठ, कृष्ण मल्ल, पवित्रा आचार्य, खुश्बु खड्का, सुनिल कटुवाल, चेत बहादुर सिंह, गजित विस्ट, बसुन्धारा भुषाललगायतका कलाकारहरु फिल्मको च्यारिटीमा उपस्थित भएका थिए । ‘प्रसाद’ मा नम्रता श्रेष्ठ, विपिन कार्की र निश्चल बस्नेत लिड रोलमा छन् ।

