नेपाली कलाकारमा डेब्यु फिल्मको बुझाइ विल्कुल फरक छ । डेब्यु फिल्म फ्लप भयो र त्यसपछि आएको अर्को फिल्म बक्सअफिसमा हिट भयो भने कलाकारहरुको बोली तुरुन्तै फेरिन्छ र भन्छन्, ‘यो नै मेरो डेब्यु फिल्म हो ।’ कोही भने सहायक भूमिका मात्र निभाएर वाक्कदिक्क भएको बेला फ्याट्ट लिड रोल भेटे त्यसैलाई डेब्यु फिल्म भनिदिन्छन् ।
आधा दर्जन बढी फिल्ममा कतिमा सहायक त कतिमा लिड रोल निभाएका शुशील सिटौला पनि माघ १८ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘रणवीर’ लाई आफ्नो डेब्यु फिल्म बताउँछन् । यो फिल्मलाई आफ्नो डेब्यु बताउनुको उनीसँग मिठो तर्क पनि छ । उनी भन्छन्, ‘‘रणवीर’ बन्न सहज थिएन त्यसैले मेरो लागि डेब्यु फिल्म हो यो । यसमा दर्शकले नयाँ शुशीललाई देख्नु हुनेछ ।’’
बुटवलका स्थानीय पत्रकारसँग गफिँदै उनले फिल्ममा आफू धनगढीको एक युवकको भूमिकामा रहेको बताए । उनले भने, ‘एक युवकको जीवनमा आउने आरोह-अवरोह नै 'रणवीर' हो ।’ उनले 'रणवीर' बन्नकै निमित्त १५ किलो वजन बढाएका थिए भने फाइट पनि सिकेका थिए । अघिल्ला फिल्मले आफूलाई दर्शकमाझ चिनाएको र यसले स्थापित गर्नेमा उनी विश्वस्त छन् ।

गोविन्द सिंह भण्डारी निर्देशित यस फिल्मबाट सुवेक्षा खड्का र सुपुष्पा भट्टबाट डेब्यु गरेका छन् । नरेश पौडेल, टिका पहाडी, प्रशान्त ताम्रकार, रवि गिरी, शैलेश्वरी सिंह,लगायतको पनि अभिनय रहेको छ । फिल्ममा माया, मित्रता र बदलाको कथालाई प्रस्तुत गरिएको छ । निर्माता द्वय गोमा बिष्ट थापा र दीपेन्द्र रेग्मीले कथा राम्रो लागेर फिल्ममा लगानी गर्न तयार भएको बताए ।

