अभिनेता अनमोल केसी स्टारर फिल्म ‘ए मेरो हजुर ३’ सँग चैत २९ गते एकसाथ प्रदर्शनमा आउन लागेको प्रतिक्षीत फिल्म ‘यात्रा’ को तीन अफिसियल पोस्टरहरु निर्माण टिमले सार्वजनिक गरेको छ । सम्राट शाक्यको डेब्यु निर्देशन रहेको फिल्मको पोस्टर निकै आकर्षक बनाइएको छ । पोस्टर टौवा क्रियसनले तयार पारेको हो ।
सार्वजनिक दुई पोस्टरमा नव-अभिनेत्री मल्लिका महत्त र अभिनेता सलिनमान बनियाँलाई रोमान्टिक अवतारमा देख्न सकिन्छ भने तेस्रो पोस्टरमा अभिनेता सलोन बस्नेतसहित फिल्मका अन्य कलाकारहरु फिचर्ड छन् । डेब्यु फिल्म ‘ए मेरो हजुर २’ रिलिजको एक वर्षपछि पर्दामा देखिन लागेका सलिनमान ‘यात्रा’ मा एक भ्लगरको भूमिकामा छन् ।

जान्वी बस्नेत, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेललगायतको फिल्ममा अभिनय छ । विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय रहेको छ । फिल्ममा बालकलाकारको रुपमा युट्युबमा चर्चित अंकित संग्रौला र एन्जल राई रहेका छन् । केही दिनमा यस फिल्मको पहिलो गीत निर्माण टिमले सार्वजनिक गर्दैछ ।
यस फिल्मलाई जर्नी लभस्टोरी भनिएको छ भने यसमा यात्राले ल्याउने परिस्थितिलाई देखाइनेछ । फिल्मलाई केशव भट्टराई र सुशील पोखरेलले संयुक्त रुपमा निर्माण गरेका हुन् । यसको कार्यकारी निर्माता सर्जुमान लिगल रहेका छन् । फिल्ममा बिक्रम पराजुली, मुक्ति तिमल्सिना र रामशरण घिमिरे सह-निर्माता छन् ।
फिल्ममा कथा पनि निर्देशक स्वयंको छ । संजय लामाको छायांकन रहेको फिल्ममा कविराज गहतराज र प्रविन सिंहको कोरियोग्राफी, हिमाल केसीको द्वन्द र बनिश शाहको सम्पादन छ । फिल्ममा वरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटा, प्रतिक पौडेल र कोविद बज्रको संगीत रहेको छ । सलिनमान ‘ए मेरो हजुर २’ पछि पर्दामा देखिन लागेका कारण पनि यो फिल्मको दर्शकमा व्यग्र प्रतिक्षा छ ।

