बुधबार दिउँसो करीब साढे ४ बजे फिल्म ‘शुभ लभ’ को शिर्ष गीत सार्वजनिक कार्यक्रममा समाचार सङ्कलनका लागि पुगेका चलचित्र पत्रकार तथा चलचित्र पत्रकार संघ, नेपालका सचिव समिर बलामीमाथि क्यूज हलका कर्मचारीबाट भएको दुर्व्यवहारप्रति चलचित्र पत्रकार संघ, नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

फिल्मको कार्यक्रम सुरु हुनुभन्दा केही समय अगाडि हलका कर्मचारीले हातपात गरेपछि पत्रकार बलामीले प्रतिवाद गरेका थिए । हलका कर्मचारीले समाचार सङ्कलनका लागि पुगेका पत्रकारमाथि दुर्व्यवहार र हातपात गर्नु समाचार सम्प्रेषणमा अवरोध साथै प्रेस स्वतन्त्रतामाथि ठाडो हस्पक्षेप भएको संघले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

‘हलका कर्मचारीको यस्तो ज्यादतीप्रति संघ घोर निन्दासहित कडा शब्दमा भत्र्सना गर्दछ,’ संघका महासचिव अनिल यादवद्वारा जारी विज्ञप्तिमा भनिएको छ । पत्रकारमाथि ज्यादती हुँदा समेत कार्यक्रम आयोजक र हल सञ्चालक मौन रहनु र गम्भीर चासो नदेखाउनुलाई संघले खेदजनक ठानेको छ ।
उक्त घटनाले पत्रकारलाई समाचार सङ्कलन गर्न असुरक्षित महशुस भएको भन्दै पत्रकारहरुको सुरक्षाको प्रत्याभुतीको ग्यारेन्टी गर्ने गरि दुवै पक्षबाट आधिकारिक धारण नआउँदासम्म क्यूज हल र फिल्म ‘शुभ लभ’ मा पत्रकार सहभागी नहुने संघले चेतावनी समेत दिएको छ । क्यूज हलमा केही समययता नेपाली फिल्मको अत्याधिक कार्यक्रम हुने गर्दछ ।
यसबीच फिल्म ‘शुभ लभ’ का निर्देशक सन्तोषबाबु लोहनी, प्रस्तुतकर्ता प्रदीप कुमार उदय, अभिनेता हरिहर अधिकारीलगायत फिल्मका सदस्यले फिल्मको गीत सार्वजनिक कार्यक्रममा हलका कर्मचारीबाट पत्रकारमाथि भएको दुर्व्यवहारप्रति गम्भीर खेद प्रकट गर्दै सामाजिक सञ्जालमार्फत् क्षमा समेत मागेका छन् ।

यस्तै, क्यूज हलले पनि एक विज्ञप्ती जारी गर्दै उक्त घटनाप्रति खेद प्रकट गरेको छ । क्यूज सिनेमाका प्रबन्धक राकेश श्रेष्ठद्वारा जारी विज्ञप्तीमा भनिएको छ, 'बाह्य स्रोतका दुई कर्मचारीबाट पत्रकार मित्र समिर बलामीमाथि गरिएको दुर्व्यवहार र अप्रिय घटनाप्रति यस क्यूज सिनेमा परिवार दुःखी छौं र पत्रकार मित्रप्रति क्षमा माग्दछौं ।'

