Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

अनमोलले छाडेको ‘ब्याचलर बन्टी’ प्रदीपलाई अफर

फिल्मीखबर, काठमाण्डौ, 2019/01/24
अभिनेता द्वय अनमोल केसी र प्रदीप खड्काबीच अघोषित प्रतिस्पर्धा छ भनिन्छ । उनीहरुमध्ये कसले कसलाई उछिन्छ ? अड्कलबाजी गरिँदैछ । तर, अहिलेको अवस्थामा हिट फिल्मको संख्यामा भने अनमोल अगाडि छन् । प्रदीप उनीभन्दा अगाडि निस्कन अहिले गिनेचुनेका निर्देशकसँग ‘ब्याक टू ब्याक’ फिल्म गर्दैछन् ।  
 
तर, एउटा यथार्थ चाहिँ के हो भने अनमोलले ‘नो’ भनेका फिल्म गरेरै प्रदीपले लोभलाग्दो सफलताको उचाइ छुन सफल भएका हुन् । ‘प्रेमगीत’, ‘लिलिबिली’ र प्रदर्शनका लागि तयार रहेको फिल्म ‘लभ स्टेशन’ सबै अनमोलले गर्न नमानेका फिल्म हुन्, जुन प्रदीपले गर्न राजी भए । यसले पनि भन्छ- दुईबीच अघोषित प्रतिस्पर्धा छ । 
 
यसबीच अनमोलले साइन गरेर पनि छाडेको एक फिल्म प्रदीपलाई अफर गरिएको छ । केही दिन अगाडि मात्र अनमोलले रोल मन नपरेको भन्दै महँगो पारिश्रमिकमा साइन गरेको फिल्म ‘ब्याचलर बन्टी’ बाट हात झिकेका थिए । यो फिल्म अहिले निर्माता सुदीप खड्काले प्रदीपलाई अफर गरेका छन् । 
 
 
निर्माता खड्का र अभिनेता खड्काबीच फिल्मको विषयमा केही पटक कुरा समेत भइसकेको छ । प्रदीपले भने आफ्नो पाइपलाइनमा तीन फिल्म रहेको भन्दै  ‘ब्याचलर बन्टी’ बाट तर्किन खोजिरहेका छन् । सुदीप भने प्रदीपले फिल्म गर्न तयार भए नाम परिवर्तन गरेर ‘सोलिडोली’ राख्ने सोचमा छन् । 
 
फिल्म ‘लिलिबिली’ रिलिजको बेला निर्देशक मिलन चाम्सले प्रदीपलाई लिएर ‘सोलिडोली’ बनाउन लागेको बताएका थिए । यद्यपि, यो कुरा नकारेका थिए प्रदीपले । बरु, ‘लिलिबिली’ को सिक्वेल बने काम गर्न सक्ने 'ग्रिन सिगनल' दिएका थिए । तर, ‘लिलिबिली’ रिलिज लगत्तै प्रदीप र मिलनको ‘पानी बाराबार’ भयो । 
 
विशेष स्रोतका अनुसार, ‘सोलिडोली’ का लागि तयार गरिएको स्क्रिप्ट नाम परिवर्तन गरेर अनमोललाई साइन गराइएको थियो । तर, अनमोलले रोल चित्त नबुझेको भन्दै हात झिकेपछि फेरि घुमिफिरी प्रदीपलाई नै फिल्म अफर भएको छ । यो फिल्म प्रदीपले गर्ने न्यून सम्भावना रहेको स्रोत बताउँछ । 
 
अनमोलले केही दिन अगाडि आफूले छाडेको ‘ब्याचलर बन्टी’ प्रदीप, पल शाह र सलिनमान बनियाँले गर्दा राम्रो हुने बताएका थिए । यो अभिव्यक्तिले उनी आलोचित पनि बने । आफ्नै प्रतिस्पर्धी अभिनेतालाई आफूले छाडेको फिल्म गर्न सुझाव दिनुलाई कतिपयले उनको 'घमण्ड' बोलेको भने । 
 
उनको सुझावलाई ‘ब्याचलर बन्टी’ का निर्माताले भने सकारात्मक रुपमा लिएको देखिएको छ । अहिले निर्माता सुदीप खड्का, प्रदीपलाई मनाउन निरन्तर प्रयासरत छन् । अब उक्त फिल्म प्रदीपले गर्छन् वा लत्याउँछन् ? यो भने सबैका लागि चासोको विषय बनेको छ ।
Most Visited News (monthly)