नेपालीमा एउटा चर्चित उखान छ, ‘दुईटा डुङ्गामा खुट्टा राखे, डुबिन्छ ।’ अपवाद बाहेक यो उखान धेरैको हकमा सत्य साबित भएको छ । एउटा विधामा राम्रो हुँदाहुँदै अर्को विधामा हात हाल्दा ‘न यता न उता’ भएका यहाँ धेरै उदाहरणहरु छन् । त्यसैले जुन विधामा आफू सफल र सक्षम हो त्यसमै आफूलाई अगाडि बढाउनु राम्रो हुन्छ ।
तर, यो कुरा मान्न तयार छैनन् चर्चित युवा जोतिष हरिहर अधिकारी । किनकि, उनी स्वयं दुईटा डुङ्गामा खुट्टा राखेर जोखिमपूर्ण यात्रा गर्दैछन् । ज्योतिष विधामा युवा उमेरमै लोभलाग्दो सफलता हात पारेका उनी अब आफूलाई फिल्ममा हिरोको रुपमा पनि अगाडि बढाउँदैछन् । उनको डेब्यु फिल्म ‘शुभ लभ’ आउँदो चैत १५ मा रिलिज हुँदैछ ।
बुधबार फिल्मको शिर्ष गीत रिलिज कार्यक्रममा उनी पत्रकारको एक प्रश्नको उत्तरमा भन्दै थिए, ‘एउटा ‘योङ्ग एज’ को मान्छेलाई ‘डिमोटिभेट’ नगर्नुहोला । दुई/चारवटा प्रोफेसनमा अगाडि बढ्न सक्नुहुन्छ । रिक्स छ, टाइम छ र टेक्नोलोजी छ । त्यसैले कुनै काम गर्न डराउनुभयो भने 'ब्रेन' त्यही 'स्टप' हुन्छ र 'डिप्रेसन' को शिकार भइन्छ ।’

धेरै निर्माता/निर्देशकका फिल्मको नाम, रिलिज डेट, गीतसंगीत तथा ट्रेलर सार्वजनिक गर्ने तिथिमिति समेत जुराइदिएका उनलाई फिल्म ‘शुभ लभ’ असफल भए पनि मानिसहरुमा आफूप्रतिको विश्वास कम नहुनेमा विश्वस्त छन् । तर, उनी ज्योतिषशास्त्रअनुसार आफ्नो डेब्यु फिल्म हिट हुने बताउँछन् ।
रियल लाइफ झैँ यस फिल्ममा उनी ज्योतिषकै भूमिकामा छन् । तर, आफ्नो रियल लाइफसँग फिल्म नमिल्ने उनी बताउँछन् । यो फिल्मको कथा पनि उनी स्वयंले लेखेका हुन् । यसअघि उनले लेखेको कथामा निर्माण भएको फिल्म ‘ए मेरो हजुर २’ बल्कबस्टर भएको थियो । सुरुमा यो फिल्ममा उनी नै लिड रोलमा रहने फाइनल भएको थियो ।
तर, स्क्रिप्ट तयार भएपछि उनले फिल्म नगर्ने निर्णय गरे र निर्देशक झरना थापाले सलिनमान बनियाँलाई डेब्यु गराइन् । ‘शुभ लभ’ को गीत रिलिज कार्यक्रममा ‘ए मेरो हजुर २’ नगर्नुको कारणबारे पत्रकारले उनलाई प्रश्न गरे । टिमबाट आफूलाई फिल्म गर्न आग्रह भए पनि आफन्त र साथीभाईको सल्लाहमा नगरेको उनको भनाइ छ ।
उनी भन्छन्, ‘मेरो रियल क्यारेक्टरसँग ‘ए मेरो हजुर २’ को क्यारेक्टर नमिल्ने धेरैले सुझाव दिनुभयो । तलाई मानिसहरुले यसरी बुझेका छन् त्यसैले यसप्रकारको फिल्म गरे राम्रो हुन्छ भन्ने सल्लाह/सुझाव पाएपछि सहमतीमै मैले फिल्म नगरेको हुँ ।’ उनी दर्शकले आफूलाई ज्योतिषसँगै अब हिरोको रुपमा पनि स्वीकार गर्ने बताउँछन् ।

