अभिनेत्रीमा अहिलेकी 'हटकेक' हुन् पूजा शर्मा । 'ब्याक टू ब्याक' हिट फिल्म दिएकी उनको क्रेज अहिले निकै लोभलाग्दो छ । शहरिया युवापुस्तामा उनले आफ्नो बलियो पकड बनाइसकेकी छन् । 'प्रेमगीत', 'म यस्तो गीत गाउँछु' र 'रामकहानी' को सफलतापछि उनलाई लिएर फिल्म बनाउन निर्माताहरु तानातान गरिरहेका छन् ।
तर, सुदर्शन थापाको क्याम्पभन्दा बाहिर रहेर उनी चुनौती मोल्न चाहेको देखिन्न । सुदर्शन निर्देशक भए फिल्म गर्छिन् नभए अफर आएका सबै 'रिजेक्ट' । यसकारण पनि उनलाई अन्य निर्देशकसँग काम गरेर आफूलाई हिट साबित गर्न आवश्यक रहेको कतिपयको धारणा छ । तर, उनी यो कुरा तत्काल सुन्न तयार रहेको देखिन्न ।
हुनपनि जो निर्देशकसँगको सहकार्य सफल भइरहेको छ, उसको हात छाडेर अरुसँग काम गर्न सायदै कुनै कलाकार चाहन्छन् । यो मामलामा पूजा कसरी अपवाद बन्न सक्लिन् र ! सुदर्शनकै हात समातेर आफूलाई सर्वाधिक सफल नायिकाको सूचीमा अग्रणी स्थानमा उभ्याएकी उनी चाँडै नयाँ फिल्म 'सम्हालिन्छ कहिले मन' गर्दैछिन्, निर्देशकमा सुदर्शन नै छन् ।

यसबीच, बुधबार उनले पहिलो पटक कुनै फिल्ममा विशेष भूमिका निभाउन लागेको खबर मिडियाका लागि गजबकै मसला बन्यो । दशक अगाडिका सुपरहिट फिल्म दिने 'टप फाइभ' निर्देशकमा आफूलाई उभ्याएका शोभित बस्नेतको निर्देशनमा बन्न लागेको फिल्म ‘बद्रीबहादुर’ मा पूजा विशेष भूमिकामा देखिने टिमबाटै जानकारी बाहिरिएको थियो ।
निर्देशक बस्नेतले फिल्मीखबरसँग कुराकानी गर्दै फिल्ममा उनको जोडी अभिनेता सलोन बस्नेत हुने र दुईको एक गीत र केही सिनहरु रहने बताएका थिए । तर, निर्देशक बस्नेतको भनाइ झुट रहेकी पूजाले बताएकी छन् । फिल्मीखबरमा प्रकाशित फिल्मको समाचार आफ्नो फेसबुकमा साझेदार गर्दै उनले गीतमा सानो केमियो मात्र गर्न लागेको स्पष्टिकरण दिएकी छन् ।
अब कसको कुरालाई सत्य मान्ने ? निर्देशक बस्नेत फिल्ममा पूजा र सलोनको एक गीत र केही सिनहरु रहने बताउँछन् तर पूजा गीतमा सानो केमियो मात्र हुने बताउँछिन् । निर्देशक बस्नेतले फिल्मीखबरसँगको कुराकानीमा चरित्र मन परेपछि पूजा विना पारिश्रमिक काम गर्न तयार भएको समेत बताएका छन् । पूजा भने आग्रह टार्न नसकेर गीतमा केमियो गर्न राजी भएको बताउँछिन् ।
निर्देशक र अभिनेत्रीको बोली एउटै नहुनुको दुई कारण हुनसक्छन् । पहिलो, गीतमा काम गरेपछि पूजाले अरु सिन पनि गर्छिन् भन्ने भ्रम निर्देशक बस्नेतलाई भएको हुनुपर्छ । दोस्रो, निर्देशक बस्नेतले फिल्ममा विशेष भूमिका निभाउन गरेको आग्रहलाई पूजाले गीत मात्र बुझेकी हुनसक्छिन् । नभए निर्देशकको एउटा र अभिनेत्रीको बोली अर्को कसरी हुनसक्छ ?
अब फिल्म प्रदर्शनमा नआएसम्म कसको बोलीमा सत्यता छ त्यो खुल्न भने गाह्रै छ । तर, एउटा सत्य चाहिँ के हो भने निर्देशक शोभित बस्नेत र अभिनेत्री पूजा शर्मा सधैं आफ्नै मात्र चर्चा होस् भन्ने चाहने सेलिब्रेटी हुन् । कतै दुईले सहमतीमै यो कुरालाई लिएर मिडियाको 'लाइमलाइट' मा आउन चाहेका त होइनन् ? भगवान जानुन !

