प्रदर्शन मिति नजिकिँदै गर्दा फिल्म ‘रणवीर’ ले यतिबेला आफ्नो प्रचार-प्रसारलाई चुस्त बनाइरहेको छ । अहिले फिल्मका कलाकार र निर्माता मोफसल टुरमा छन् । निर्देशक गोविन्द सिंह भण्डारी भने फिल्मको काम अझै नसकिएका कारण हिँड्न सकेका छैनन् । फिल्म माघ १८ बाट प्रदर्शनमा आउँदैछ ।
मंगलवार निर्माताद्वय गोमा बिष्ट थापा र दीपेन्द्र रेग्मी, कलाकारहरु नरेश पौडेल, शुशील सिटौला, सुवेक्षा खड्का र सुपुष्पा भट्टले चितवनका पत्रकारसँग प्रत्यक्ष साक्षात्कार गरे । पत्रकारले ‘रणवीर’ बाटै डेब्यु गर्नुको कारण सुवेक्षाबाट जान्न खोजे । उनले डेब्यु गर्नुको कारण कथावस्तु रहेको बताइन् ।

'यसमा मेरो रोल मात्र होइन, यो सब्जेक्ट नै राम्रो छ । पछिल्लो समय बनिरहेका फिल्मको तुलनामा यो टेक्निकली मात्र नभइ कथावस्तुको हिसाबले पनि राम्रो छ', उनले भनिन् । अभिनेता शुशीलले भने फेरि एकपटक फिल्ममा आफ्नो चरित्रलाई न्याय गर्न १५ केजी तौल बढाएको बताए ।
अर्की नव-अभिनेत्री सुपुष्पा भट्टले नेपाली फिल्ममा आफूलाई दर्शकले मिठो स्वागत गर्नेमा विश्वस्त रहेको बताइन् । ‘रणवीर’ मा अडियन दिएर सेलेक्ट भएको बताउँदै उनले भनिन्, 'फिल्ममा मेरो क्यारेक्टरले केही न केही छाप पक्कै छाड्ने छ ।' निर्माता द्वय गोमा र दीपेन्द्रले कथा राम्रो लागेर फिल्ममा लगानी गर्न तयार भएको बताए ।
साउथ इन्डियन फिल्ममा समेत काम गरिसकेका निर्देशक भण्डारीद्वारा लिखित कथामा आधारित भएर निर्माण भएको फिल्ममा टिका पहाडी, प्रशान्त ताम्रकार, रवि गिरी, शैलेश्वरी सिंह,लगायतको पनि अभिनय रहेको छ । फिल्ममा माया, मित्रता र बदलाको कथालाई प्रस्तुत गरिएको छ ।

