
बलिउड सुपरस्टार अजय देवगनले 'स्टार सिस्टम' कहिल्यै खत्तम नहुने बताएका छन् । यस्तै, उनकी पत्नी एवं बलिउडकी बहुचर्चित अभिनेत्री काजोल चर्चामा आउन जति सजिलो स्टार हुन नहुने तर्क राख्छिन् । अजय भन्छन्, 'दर्शक निकै सोचविचार गरेर मात्र फिल्म हेर्छन् । यसकारण यो कुरामा हामीले निकै ध्यान दिनुपर्छ ।'
'पहिला हामी हरेक प्रकारका फिल्म गर्थ्यौं र हामी जुन पनि फिल्म गर्थ्यौं त्यो फिल्म चल्थ्यो । तर, आजको समय त्यस्तो छैन । आजको समयमा विशष गरि हाम्रो पिढीपछिका कलाकारले निकै सावधानी अपनाउनु पर्ने हुन्छ', उनले भने । काजोल भने स्टार र चर्चालाई साथ राखेर हेर्न नमिल्ने बताउँछिन् ।
२५ वर्षभन्दा बढी समयदेखि बलिउडमा सक्रिय उनले भनिन्, 'धेरै यस्ता व्यक्ति छन्, जो आज निकै चर्चित छन् तर स्टार निकै कम हुन्छन् । त्यसैले यी दुई शब्दलाई एक ठाउँमा राखेर हेर्न मिल्दैन ।' गत वर्ष उनको लिड रोल रहेको फिल्म ‘हेलिकप्टर इला’ रिलिज भएको थियो ।
करीब २८ वर्षदेखि बलिउडमा कार्यरत अजय ९ वर्षपछि आफ्नी श्रीमती काजोलसँग फिल्म ‘तानाजी : द अनसंग वारियर’ मा देखिँदैछन् । रियलझैं यी दुई फिल्ममा पनि पति-पत्नीको भूमिकामा छन् । यस फिल्ममा अजय सुबेदार तानाजी मालुसारेको भूमिकामा छन् ।

