Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आशिरमान भन्छन्, ‘प्रदीप र अनमोलसँग स्वच्छ प्रतिस्पर्धा’

फिल्मीखबर, काठमाण्डौ, 2019/01/22
नेपाली फिल्म क्षेत्रले एक आशा गरेको अभिनेता हुन् आशिरमान देशराज जोशी । लोभलाग्दो हाइट र चकलेटी अनुहारका कारण फिल्ममा आउनु अगावै उनको शहरिया युवापुस्तामा राम्रो क्रेज थियो । डेब्यु फिल्म ‘ग्याङस्टार ब्लूज’ रिलिजताका उनको नामको मेहन्दी पनि धेरै युवतीहरुले लगाए । 
 
डेब्यु फिल्म हिट भएको खण्डमा अहिलेका गिनेचुनेका अभिनेता द्वय अनमोल केसी र प्रदीप खड्कालाई उनी ‘थ्रेट’ हुनसक्ने कतिपयको विश्लेषण पनि थियो । तर, फिल्मले बक्सअफिसमा कमाल देखाएन । डेब्यु फिल्मबाट हिट हिरो हुने सपना आशिरमानको अधूरै रह्यो । अब दोस्रो पटक उनी आफ्नो जादू देखाउन तयार छन् ।
 
आउँदो फागृुन १७ गते उनी अभिनीत फिल्म ‘दि ब्रेकअप’ प्रदर्शनमा आउँदैछ । यो फिल्म पनि ‘ग्याङस्टार ब्लूज’ निर्देशक हेमराज विसीले नै निर्देशन गरेका हुन् । आशिरलाई लिएर लगातार दुई फिल्म बनाउनुको पछाडि हेमराजले अनमोल र प्रदीपका लागि कडा प्रतिस्पर्धी हिरो जन्माउन चाहेको बताइन्छ । 
 
‘दि ब्रेकअप’ ले आशिरमानलाई अनमोल र प्रदीपको कडा प्रतिस्पर्धी अभिनेताको रुपमा उभ्याउँछ वा उभ्याउँदैन ? यसको प्रतिक्षा अझै केही समय गर्नैपर्ने हुन्छ । तर, उनको फिल्म करियरका लागि भने यो फिल्म कुनै पनि अवस्थामा बक्सअफिसमा चल्नु पर्नेछ । यो फिल्म पनि असफल भए उनको करियर सुरु नहुँदै अस्तव्यस्त हुनेछ । 
 
आशिरमान भने ‘दि ब्रेकअप’ ले निराश नबनाउनेमा विश्वस्त छन् । यो फिल्मको सोमवार राजधानीमा एक कार्यक्रमका बीच ट्रेलर सार्वजनिक गरिएको छ । उक्त कार्यक्रममा उनले फिल्म राम्रो बनेको र आफूले मेहनत गर्न कुनै कसर बाँकी नराखेको बताए । उनी भन्छन्, ‘एउटा प्रेमयूक्त फिल्म बनेको छ । दर्शकलाई पक्कै मन पर्नेछ ।’
 
 
‘दि ब्रेकअप’ को ट्रेलर रिलिज कार्यक्रममा बोल्दै अभिनेता आशिरमान देशराज जोशी
 
उनले पत्रकारको एक प्रश्नको उत्तरमा बलिउडका तीन सुपरस्टार सलमान खान, शाहरुख खान र आमिर खानको उदाहरण दिँदै भने, ‘गत वर्ष बलिउडका तीन सुपरस्टार खानकोे फिल्म चलेन । यसबाट के बुझ्न सकिन्छ भने फिल्म नै नराम्रो छ भने जति नै ठूलो सुपरस्टार भए पनि चल्दैन । फिल्म चल्न फिल्म आफैंमा बलियो हुनुपर्छ ।’ 
 
आमिर खानले आफू अभिनीत फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ असफल भएपछि त्यसको जिम्मेवारी सम्पूर्ण आफूले लिने बताएका थिए । बलिउडका खानको उदाहरण दिँदै गर्दा के आशिरमान पनि आमिर खानजस्तै फिल्म असफलताको जिम्मेवारी आफ्नो काँधमा उठाउन तयार छन् ? पत्रकारको प्रश्नमा उनी केही बेर घोत्लिए । 
 
उनले आफूलाई स्टार नभइ एक्टर मान्ने बताउँदै भने, ‘सलमान, शाहरुख र आमिर खानको कुरा गर्नुपर्दा उनीहरुले आफ्नो नाम बनाइसके । म त भर्खर नाम बनाउन आइरहेको छु । आफ्नो छाप छोड्न आएको हुँ । मेरो एउटा फिल्म मात्र आएको छ । म अझै फिल्म असफलताको जिम्मेवारी उठाउने स्थानमा पुगिसकेको छैन ।’
 
उनले आफ्नो डेब्यु फिल्म ‘ग्याङस्टार ब्लूज’ असफल हुनुको कारण पनि घुमाउरो शैलीमा बताए । उनले भने, ‘मेरो डेब्यु फिल्म ग्याङस्टार जनरामा बनेको थियो । लभस्टोरीमा हामीले खासै 'फोकस' गरेका थिएनौं । पूरै काट्ने/मार्ने सिन मात्र थियो, जुन दर्शकलाई मन परेन । त्यो हामी स्वीकार्छौं ।’ 
 
उनी अहिलेको 'ट्रेन्ड' लभस्टोरीको रहेको र आफ्ना फ्यानहरु पनि एक्सनभन्दा लभस्टोरी फिल्म नै हेर्न चाहने बताउँछन् । आशिरमान थप्छन्, ‘मलाई फ्यानहरुले पनि काट्ने/मार्ने फिल्म नगर्न सल्लाह दिनुहुन्छ । त्यही कुरालाई मध्यनजर गरेर 'दि ब्रेकअप' बनाएका हौं ।’ यो फिल्म भने दर्शकलाई मन पर्नेमा उनलाई शंका छैन । 
 
उनी आफूलाई अनमोल केसी र प्रदीप खड्कासँग दाँज्न नमिल्ने पनि तर्क राख्छन् । ‘म त अभिनय गर्न आएको हुँ प्रतिस्पर्धा गर्न होइन’, उनले थपे, ‘अनमोलसँग कुरा भइरहेको हुन्छ । प्रदीपसँग एकदुई पटक भेट भएको छ । हामीमा इगो छैन । स्वच्छ प्रतिस्पर्धा छ ।’ आशिरमानले दोस्रो फिल्म ‘दि ब्रेकअप’ मा अभिनेत्री शिल्पा मास्केसँग रोमान्स गरेका छन् । 
Most Visited News (monthly)