चर्चित आख्यानकार सुविन भट्टराई को उपन्यास ‘समर लभ’ माथि आधारित भएर निर्माण भएको फिल्म ‘समर लभ’ प्रेम दिवसको छेको पारेर माघ २५ गतेबाट प्रदर्शनमा आउने तयारीमा छन् । गीतसंगीत र ट्रेलरले फिल्मको हाइप निर्माण गर्दैगर्दा निर्माण टिम अहिले कलाकारको साथ लिएर प्रचार-प्रसारलाई ब्यापक बनाउँदै छ ।
पश्चिम नेपालदेखि मोफसल यात्रा सुरु गरेको ‘समर लभ’ टिम पुर्बी नेपालसम्म पुगेको छ । टिमले यतिबेला मोफसलका स्थानिय दर्शकसँग प्रत्यक्ष साक्षात्कार, मिडिया भेटघाट तथा युवापुस्तालाई लक्षित गर्दै कलेज क्याम्पियन पनि तिव्र बनाईरहेको छ । यसले फिल्मको इनिसियल बक्सअफिस राम्रो हुने विश्वास टिमलाई छ ।
.jpg)
पश्चिम नेपालको नेपालगञ्जबाट मोफसल यात्रा सुरु गरेर दाङको तुलसिपुर र घोराही, बुटवल, चितवन, हेटौँडा, धरान, इटहरी, दमक, बिर्तामोडसम्म ‘समर लभ’ टिम पुग्यो । लिड कलाकार आशिष पिया र रेवती क्षेत्री सहितको टिम मंगलबार पोखरा केन्द्रित प्रचारको लागी पोखरा पुग्दैछ ।
यसबीच, फिल्ममा समावेश 'हेरन बाँझो मनभरी' बोलको गीतको जिङ्गल सार्वजनिक गरिएको छ । पुष्पन प्रधानको संगीत तथा सुमित विश्वकर्माको स्वर रहेको सार्वजनिक गीतमा आशिष र रेवतीका रोमाञ्चक पलहरु समावेश छन् । फिल्मका निर्देशक मुस्कान ढकाल हुन् ।
फिल्मलाई खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारीले निर्माण गरेका हुन् भने बिनोद अधिकारी कार्यकारी निर्माता छन् । सोपन सरकार र मनोज बिक सह-निर्माता हुन् । फिल्ममा नम्रता सापकोटा, सुरजसिंह ठकुरी, सरोज खनाल, शिशिर भण्डारी, कविता रेग्मी, ओमप्रतिक गुरुङलगायतको पनि अभिनय छ ।
उपन्यासलाई फिल्ममा ढाल्दा पटकथा भने सामिप्यराज तिमिल्सेनाले लेखेका छन् भने संवाद लेखनमा सामिप्यले सुबिनसँग साझेदारी गरेका छन् । पुस्तक सर्वाधिक रुचाइएका कारण फिल्ममाथि दर्शकको ठूलो अपेक्षा छ । अब दर्शकको अपेक्षामाथि फिल्म कति खरो उत्रिएला ? प्रतिक्षा गर्नैपर्ने हुन्छ ।
गीत हेर्नुहोस् :-

