
गत वर्षको २१ डिसेम्बरमा रिलिज भएको बलिउड सुपरस्टार शाहरुख खान अभिनीत फिल्म ‘जिरो’ बक्सअफिसमा नराम्रोसँग चिप्लियो । फिल्ममा शाहरुखले पुट्केको भूमिका निभाएर एक नयाँ 'रिस्क' लिएका थिए । तर, फिल्मले दर्शकको मन जितेन । सय करोड कमाउन पनि फिल्मलाई सकस भयो ।
यो फिल्मको असफलताबाट शाहरुख निकै निराश भएका छन् । किनकि, उनका पछिल्ला फिल्म 'ब्याक टू ब्याक' फ्लप थिए । यसबीच निर्देशक आनन्द एल रायले ‘जिरो’ को असफलताबारे मुख खोलेका छन् । उनले पनि फिल्मको असफलताबाट निकै निराश भएको बताएका छन् ।
एक अन्तर्वार्तामा आनन्दले भने, ‘यो त्यही कहानी थियो, जसलाई म बनाउन चाहन्थेँ । यो त्यही कहानी थियो, जसलाई म बताउन चाहन्थेँ । 'रांझणा' र 'तनु वेड्स मनु' बनाएपछि ‘जिरो’ मेरो सबैभन्दा महत्वपूर्ण प्रोजेक्ट थियो । तर, मैले सही तरिकाबाट यो प्रोजेक्ट गर्न सकिनँ ।’
‘जिरो’ को कहानी एक पुट्ने व्यक्ति बउआ सिंहको थियो, यो भूमिका शाहरुखले निभाएका थिए । फिल्ममा कैटरीना कैफ सुपरस्टार बबिता कुमारीको भूमिकामा थिइन् भने साइन्टिस्टको रोल अनुष्का शर्माले निभाएकी थिइन् । सलमान खानले एक गीतमा ठुम्का लगाएका थिए ।

