लोक फ्लेवरको गीत ‘तिरिमिरी तिरिमिरी तीन तारा’ गीतका कारण फिल्म ‘रणवीर’ यतिबेला चर्चामा छ । गीतसंगीत र हालै सार्वजनिक भएको ‘एक्सन प्याक्ड’ ट्रेलरका कारण फिल्मको इनिसियल बक्सअफिस आक्रामक हुनेमा निर्माण टिम विश्वस्त देखिएको छ । ट्रेलरमा देखाइएको लिड अभिनेता द्वय शुशील सिटौला र प्रशान्त ताम्राकारको घमासान युद्धले फिल्मप्रति दर्शकमा निकै कौतुहलता बढाएको छ ।
.jpg)
प्रदर्शन मिति नजिकिँदै गर्दा प्रचार-प्रसार चुस्त बनाउन अहिले निर्माण टिम दिनरात खटिरहेको छ । हालै फिल्मका कलाकार, निर्देशक र निर्माता पोखरा प्रचार सकेर राजधानी फिरेका छन् । फिल्मको केही दिनको सुटिङ बाँकी रहेका कारण यस हप्ताको अन्तिमबाट अन्य शहरहरु पनि प्रचारका लागि पुग्ने तयारीमा निर्माण टिम छ । पोखरामा भने कलाकार, निर्देशक र निर्माताले फिल्मको बारेमा पत्रकारलाई जानकारी गराए ।
शनिबार आयोजित पत्रकार भेटघाटमा अभिनेता शुशिल सिटौलाले फिल्ममा आफू टाइटल क्यारेक्टरमा रहेको बताए । ‘यसअघिका फिल्ममा मलाई चकलेटी भूमिकामा देख्दै आउनुभएको थियो तर यसमा मुलुकका विकृति-विसंगति विरुद्ध उत्रिएको छु । 'रणवीर' मा दर्शकहरुले मलाई छुट्टै चरित्रमा देख्नुहुनेछ ।’ उनले आफ्नो काम हेरेर मुल्यांकन गर्न पनि आग्रह गरे ।
यो फिल्ममा शुशिलसँगै, नवोदित अभिनेत्रीद्धय शुभेच्छा खड्का, सुपुष्पा भट्ट, प्रशान्त ताम्राकार, हरिहर शर्मा, टिका पहारी, नरेश पौड्याल, भोलाराज सापकोटालगायतको मुख्य भूमिका छ । नवोदित अभिनेत्री एवम् मिस नेपाल इन्टरनेशलन २०१२ शुभेच्छा खड्काले यसअघि विभिन्न फिल्ममा प्रस्ताव आए पनि खोजेको जस्तो भूमिका र टिम पाएका कारण 'रणवीर' मा काम गरेको बताइन् ।
पहिलो फिल्मबाट आफूले दर्शकको मन जित्नेमा विश्वस्त रहेको पनि उनले जिकिर गरिन् । अर्की नवोदित अभिनेत्री सुपुष्पाले यो फिल्ममा आफु एउटी प्रेमिकासँगै जिम्मेवारी युवतीको भूमिकामा रहेको जानकारी गराइन् । आफू नयाँ भएर पनि अग्रज कलाकारहरुसँग काम गर्दा धेरै कुरा सिक्न पाएको अनुभव उनले सञ्चारकर्मीलाई सुनाइन् ।
.jpg)
निर्देशक तथा लेखक गोविन्द सिंह भण्डारीले देशमा व्याप्त भष्ट्राचार, अपहरण, गुन्डागर्दी जस्ता विविध समस्यालाई फिल्ममा उठाएको जानकारी गराए । 'रणवीर' प्रेमकथामा आधारित भएर पनि एक्सन प्रधान सामाजिक फिल्म बनेको उनले बताए । यसअघि फिल्म 'गाजाबाजा' फिल्म बनाएका गोमा बिष्ट थापा र दीपेन्द्र रेग्मीले फिल्मको निर्माण गरेका हुन् । दुवैले फिल्मको कथा सशक्त भएका कारण लगानी गरेको बताए ।
'रणवीर' मा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन, चन्द्र पन्तको द्वन्द्व निर्देशन, राजनराज शिवाकोटा, हर्कुलेस बस्नेत, अमित श्रेष्ठको संगीत, रामजी लामिछोन, गम्भिर बिष्ट र सुरेन बस्यालको कोरियोग्राफी छ । फिल्मले बाउ र छोराको सम्बन्ध कस्तो हुनुपर्छ भन्ने उदाहरण समाजमा पेश गर्ने निर्देशक गोविन्दले बताएका छन् ।

