नेपाली युट्युब प्रयोगकर्तामाझ लोकप्रिय अनुहार हुन् अमृत ढुंगाना । शहरिया युवापुस्तामा उनको राम्रो क्रेज छ । युट्युबमा सर्वाधिक रुचाइएको वेव सिरिजबाट लोभलाग्दो सफलता चुमेका उनी अचेल फिल्ममा बढी व्यस्त छन् । ‘सायद २’ रिलिजको लामो समयपछि प्रदर्शनमा आएको उनको पछिल्लो फिल्म ‘जय श्री दाम’ हो ।
.jpg)
तर, अपसोस ! दुबै फिल्म बक्सअफिसमा असफल भए । ‘जय श्री दाम’ भन्दा ‘सायद २’ राम्रो चलेता पनि उनको हिट हुने सपना दुबै फिल्मले पूरा गरेनन् । उनको 'ब्याक टू ब्याक' दुई फिल्म फ्लप भएपछि युट्युबबाट कमाएको लोकप्रियताले फिल्मलाई फाइदा गर्ने सोचाइ फिल्ममेकर्सको दिमागबाट मेटिन थालेको छ ।
केही समय अगाडिसम्म उनको लोकप्रियता ‘क्यास’ गर्न चाहने निर्माता/निर्देशक अब नाक खुम्च्याउन थालेका छन् । यसबीच उनको तेस्रो फिल्म ‘सयकडा दश’ आउँदो माघ १८ गतेबाट प्रदर्शनमा आउँदैछ । यो फिल्मबाट भने उनी निकै आशावादी छन् । उनी भन्छन्, ‘राहतको सास फेर्न पाउँछु भन्नेमा ढुक्क छु ।’
युट्युबबाट कमाएको फ्यान फिल्मका लागि काम लागेन है ? उनीमाथि एक भेटमा पत्रकारको प्रश्न तेर्सियो । उनी आफू भएकै कारण फिल्म बक्सअफिसमा सफल वा असफल हुने कुरामा विश्वास गर्दैनन् । उनी भन्छन्, ‘फिल्म बनाएर मात्र हुँदैन । फिल्म रिलिज हुँदैछ भन्ने जानकारी नै भएन भने दर्शक कसरी हलसम्म पुग्छन् ?’
दर्शकलाई जानकारी नै नभएका आफ्ना फिल्म नचलेको उनको तर्क छ । ‘प्रचार राम्रो नगरेसम्म दर्शकलाई फिल्मबारे थाहा नै हुँदैन । ‘सायद २’ को औषत थियो तर ‘जय श्री दाम’ को त प्रचार नै गरिएन । अनि कसरी चल्छ त फिल्म ?’, उनले भने । उनी ‘जय श्री दाम’ जस्तो ‘सयकडा दश’ नहुनेमा भने विश्वस्त देखिन्छन् ।
.jpg)
प्रचार राम्रो भइरहेको र फिल्म पनि उत्कृष्ट बनेका कारण ‘सयकडा दश’ माथि ठूलो भरोसा रहेको अमृत बताउँछन् । फिल्मबारे आफ्नो भनाइ राख्दै उनी भन्छन्, ‘फिल्मको कन्टेन्टमाथि पूरा भरोसा छ र अहिलेको सन्दर्भमा सबै नेपालीले हेर्नुपर्ने फिल्म हो यो ।’ उनले फिल्ममा आफूले एक भष्ट्र पिताको छोराको भूमिका निभाएको बताए ।
भ्रष्टाचारले प्रेम, परिवार र समाजमा पारेको प्रभावको कथा भन्ने उक्त फिल्मलाई ‘प्रेमगीत २’ फेम्ड लेखक तथा निर्देशक रामशरण पाठकले निर्देशन गरेका हुन् । फिल्ममा अमृतका अलावा राजाराम पौडेल, मनोज गजुरेल, करुणा श्रेष्ठ, अमित पोखरेल, सोनिया राई, उत्सव न्यौपानेलगायतको अभिनय छ ।

