.jpg)
अभिनेत्री ऋचा शर्माले आफूलाई हार्ट अट्याक नभएको बताएकी छन् । सञ्चारमाध्यममा हार्ट अट्याक भएको खबर बाहिरिए पनि आफूलाई सामान्य छाती मात्र दुखेको उनले जानकारी दिएकी छन् । बुधबार अचानक छाती दुखेपछि उनी नर्भिक अस्पतालमा उपचारका लागि पुगेकी थिइन् ।
आफ्नो स्वास्थ्य अवस्था अहिले सामान्य रहेको र आफूलाई हार्ट अट्याक नभएको बिहीवार साँझ फेसबुकमा एक स्टाटस लेख्दै उनले बताइन् । उनले लेखेकी छन्, 'अहिले म सामान्य छु । सामान्य छाती मात्र दुखेको हो । मेरो चिन्ता लिनुहुने सम्पूर्णलाई धन्यवाद । अरु जानकारी दिँदै गर्नेछु ।'
नर्भिक अस्पतालका मुटुरोग विशेषज्ञ डा. जेपी जयसवालको चिकिस्तीय टोलीले अहिले उनको उपचार गरिरहेको छ । प्राप्त जानकारी अनुसार, उनलाई 'एन्जियोप्लास्ट' गरिसकिएको छ । अहिले सामाजिक सञ्जालमा शुभचिन्तक तथा चलचित्रकर्मीहरुले उनको स्वास्थ्य लाभको कामना गरिरहेका छन् ।
ऋचा शर्मा अभिनीत तथा निर्मित फिल्म 'सुनकेसरी' यस वर्ष प्रदर्शनमा आएको थियो । भर्सटायल नेपाली अभिनेत्रीको सूचीमा उनको नाम अग्रपंक्तिमा आउँछ । उनी अभिनीत नयाँ फिल्म 'न यता न उता' प्रदर्शनको पखाईमा छ ।

