Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 1.50/5.00)
Text size:-
+
-

मलाई अनमोलसँग दाँज्न मिल्दैन : सलिनमान

फिल्मीखबर, काठमाण्डौ, 2019/01/17
कोरियन लुक्स, फरक हेयर स्टाइल र आकर्षक ड्रेसअपका कारण अभिनेता सलिनमान बनियाँ अरु अभिनेताभन्दा भिन्न छन् । उनका प्रशंसक पनि लुक्स र ड्रेसअपकै 'दिवाना' बढी छन् । अभिनय मन पराउने भने सीमित छन् । उनी दर्शकमाझ 'क्लिक' हुने कारण जे भए पनि नेपाली फिल्म क्षेत्रले उनलाई उदाउँदा नक्षेत्रको रुपमा हेरेको छ । 
 
डेब्यु फिल्म 'ए मेरो हजुर २' रिलिज भएपछि अहिलेका गिनेचुनेका अभिनेता द्वय अनमोल केसी र प्रदीप खड्कालाई उनी 'थ्रेट' मानिन थालिएको छ । बढ्दो 'फ्यान फलोइंग' का कारण अचेल फिल्ममेकर्सहरु पनि उनलाई लिएर फिल्म बनाउन निकै लालायित हुने गरेका छन् । तर, फिल्म छनौटमा चुजी मानिन्छन् उनी । 
 
'ए मेरो हजुर २' रिलिजको करीब ६ महिनापछि उनले 'यात्रा' साइन गरे । यो फिल्म यस वर्षको चैत २९ मा रिलिज हुँदैछ । उक्त फिल्म रिलिज नभएसम्म उनी अर्को नयाँ फिल्म साइन गर्ने मूडमा छैनन् । उनी राम्रो स्क्रिप्ट पाए वर्षमा एउटा मात्र फिल्म गर्ने सोचमा रहेको बताइन्छ । 
 
डेब्यु फिल्ममा आफ्नो अभिनयबाट दर्शकलाई सन्तुष्ट बनाउन नसकेका उनी 'यात्रा' मा अभिनयमा निखारता ल्याउन निकै मेहनत गरेको बताउँछन् । हालै एक टिभी अन्तर्वार्तामा उनले 'ए मेरो हजुर २' भन्दा 'यात्रा' मा निकै मेहनत गरेको बताए । उनी भन्छन्, 'मैले 'यात्रा' मा मेरोतर्फबाट उत्कृष्ट दिन कुनै कसर बाँकी राखेको छैन ।' 
 
 
उनी अभिनयभन्दा दर्शकलाई आफ्नो लुक्स, हेयर स्टाइल र ड्रेसअप नै मनपर्ने निर्धक्क बताउँछन् । उनी स्वयंलाई पनि आफ्नो अभिनय खासै दमदार लाग्दो रहनेछ । 'मानिसहरु ममा यूनिक खोज्नुहुन्छ जस्तो लाग्छ त्यसैले यूनिक देखाउन मन लाग्छ', उनी अगाडि भन्छन्, 'अभिनयमा पनि आफूलाई परस्कृत गर्दै लगेको छु ।'
 
सलिनको डेब्यु फिल्ममा साम्राज्ञी आरएल शाह केन्द्रिय भूमिकामा थिइन् । उनको शहरिया युवापुस्तामा लोभलाग्दो क्रेज छ । 'ए मेरो हजुर २' सफल हुनुमा सलिनमानभन्दा ठूलो हात साम्राज्ञीको मानिन्छ । तर, यसपटक सलिनले 'यात्रा' आफ्नै काँधमा बोकेर हिँड्नु पर्ने हुन्छ । नतिजा अपेक्षित आउनेमा धेरैको शंका छ । 
 
सलिन भने फिल्म सफल हुनेमा आशावादी देखिन्छन् । उनी भन्छन्, 'मेरो कारणले मात्र फिल्म चल्नुपर्छ/चल्छ भन्ने म मान्दिनँ । फिल्म भनेको 'टिमवर्क' हो । होला इनिसियल मेरो कारणले धेरथोर चल्ला तर बाँकी दिन टिमको मेहनतकै कारणले चल्ने हो । म विश्वस्त छु 'यात्रा' बाट पनि निराश हुँदिनँ ।'
 
यसपटक उनलाई बक्सअफिसमा राज गर्न सजिलो भने छैन । किनकि, 'यात्रा' रिलिज हुने डेटमा अहिलेका 'हटकेक' अनमोल केसी स्टारर तथा सलिन आफैंले डेब्यु गरेको फिल्मको तेस्रो सिरिज 'ए मेरो हजुर ३' रिलिज हुँदैछ । अनमोलसँग भिडन्त गर्नु भनेको 'बाघको मुखमा हात हाल्नु सरह' भन्ने भनिन्छ ।  
 
दुई फिल्म भिड्ने भएपछि अहिले सलिनमानलाई अनमोलसँग दाँज्न थालिएको छ । यो भिडन्तबाट दुईको स्टारडम मापन हुने कतिपयको तर्क छ । तर, सलिन आफूलाई अनमोलसँग दाँज्न नमिल्ने तर्क राख्छन् । उनी भन्छन्, 'मेरो भर्खर त दोस्रो फिल्म रिलिज हुँदैछ । अनमोलको पाँचवटा फिल्म रिलिज भइसक्यो । कसरी दाँज्न मिल्छ ?'
 
उनी सकभर 'ए मेरो हजुर ३' सँग 'यात्रा' नजुधोस् भन्ने चाहन्छन् । सलिन थप्छन्, 'फिल्मको रिलिज डेट निर्माताले तय गर्ने हो । यसकारण मैले केही बोल्न मिल्दैन । मेरो मनको कुरा गर्ने हो भने 'ए मेरो हजुर ३' सँग 'यात्रा' नआए हुन्थ्यो जस्तो लाग्छ ।' उनी एकै डेटमा दुई फिल्म आएपनि दुबै सफल हुनेमा विश्वस्त छन् । 
Most Visited News (monthly)