कुनै फिल्म निर्देशक विना पूरा हुनसक्छ ? यो कल्पनै गर्न नसकिने कुरा हो । निर्देशक भनेको फिल्मको 'क्याप्टेन' हो । क्याक्टेन नै भएन भने फिल्मको न उडान न त अवतरण नै सुरक्षित हुन्छ । पर्दा पछाडिको शक्तिशाली व्यक्ति हो निर्देशक । फिल्म कस्तो बन्ने र बनाउने भन्ने कुरा निर्देशकको सोच र मिहिनेतमा भर पर्छ । निर्देशकको सानो लापर्वाहीले फिल्म डब्बा समेत हुनसक्छ ।
तर, फागुन १० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘प्रेमलीला’ मा निर्देशकको नामनिशानै छैन । न ट्रेलर न त पोस्टरमा नै निर्देशकको नाम छ । खासमा जनक पाण्डेले फिल्मको आधाउधी निर्देशन गरेका हुन् । फिल्मकी निर्मात्री तथा अभिनेत्री दीपशिखा खड्काको कुरालाई आधार मान्ने हो भने करीब ६५ प्रतिशत छायांकन पाण्डेले गरेका हुन् ।
फिल्मको आधा छायांकन सकिएपछि भने निर्देशक बेपत्ता भए । फिल्म रिलिजको संघारमा रहँदा समेत उनी टिमको सम्पर्कमा आएका छैनन् । निर्मात्री दीपशिखाले निर्देशकले आफूलाई धोका दिएको दुखेसो पोखिन् । उनले भनिन्, ‘अब उहाँको नाम लिन पनि चाहन्नँ । किन छाड्नु भयो भन्ने कुरा खोल्न चाहन्नँ तर उहाँको नाम राखेर फिल्म फोहोरी बनाउन चाहन्नँ ।’
.jpg)
बिहीवार फिल्मको ट्रेलर रिलिज कार्यक्रममा उनीमाथि पत्रकारले प्रश्न गरे- ‘निर्देशक विना फिल्म कसरी बन्यो ?’ उनले झट्टै उत्तर दिइन्, ‘यी बन्यो त ।’ दीपशिखा स्वयंले फिल्मको आधा भागको निर्देशन गरेकी हुन् । तर, उनले फिल्ममा आफ्नो नाम निर्देशकमा राखेकी छैनन् । उनको मात्र होइन कसैको नाम छैन ।
उनले टिमको सहयोगले फिल्मको बाँकी छायांकन सम्भव भएको बताइन् । ‘गीतमा कोरियोग्राफरले साथ दिनुभयो, एक्सन सिनमा द्वन्द्व निर्देशक र छायांकनमा छायाँकारको राम्रो साथ पाएँ’, उनले अगाडि भनिन्, ‘यो टिमले बनाएको फिल्म हो । निर्देशकमा मेरो नाम राखेको भए पनि हुन्थ्यो तर मैले त्यो ठिक ठानिनँ ।’
पत्रकारको एक प्रश्नमा उनले निर्देशकलाई लात हानेर निकालेको समेत दाबी गरिन् । नेपालका हरेक कलाकार एकपटक निर्माता बन्नु पर्ने पनि उनको भनाइ छ । उनले विगतमा गरेको गल्ती सम्झिँदै भनिन्, ‘पहिलो म कलाकार हुँदा निर्माताको पीडा बुझ्दिन थिएँ तर अहिले निर्माताको पीडा महशुस गरेकी छु ।’ ‘प्रेमलीला’ यसअघि माघ २५ मा आउने तय भएको थियो ।
हालै भिएफएक्सको काम पूरा नभएको भन्दै फागुन १० लाई निर्माण टिमले प्रदर्शन मिति घोषणा गरेको जानकारी दियो । उनले फिल्मको रिलिज सार्नुको पछाडि भिएफएक्स प्रमुख कारण नभएको बताइन् । उनले निर्धक्क भनिन्, ‘पैसा भएन अनि सारेँ ।’ उनले आफ्नो फिल्म असफल भए फेसबुकबाटै जानकारी दिने समेत बताइन् ।

