Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पुष महिनाः जाडोको असर कि फिल्म नै कमजोर ?

मनिष अन्जान, काठमाण्डौ, 2019/01/17
पुषलाई अत्याधिक जाडोको महिना भनिन्छ । यो महिना सुरु भएपछि शहर–बजार, गाउँ–टोलमा चहलपहल निकै कम हुन थाल्छ । किनकि, कठ्याङ्ग्रिदो जाडोका कारण घरबाट बाहिर निस्कन कोही चाहँदैनन् । उक्त महिनामा विभिन्न ठाउँमा जाडोका कारण धेरैको मृत्यु हुने गरेको खबर पनि बाहिरिरहेको हुन्छ । 
 
आम सर्वसाधारणलाई मात्र नभएर पुष महिना नेपाली फिल्मका लागि पनि शुभ मानिदैन । यो महिना सुरु भएपछि हलमा दर्शकको भीड देखिनु भनेको मरुभूमिमा पानी भेट्नु सरह हो । जाडोका कारण दर्शकले हलसम्म पुग्ने जाँगर नचलाउने हुँदा यस महिनामा सकभर फिल्म रिलिज गर्न निर्माता अगाडि सर्दैनन् । 
 
तर, निर्मातालाई बाध्यता के छ भने वर्षमा सयभन्दा बढी फिल्म रिलिज हुन्छन् । ठूला ब्यानर र गिनेचुनेका कलाकार भएका एकाध फिल्मले मात्र कठिनले सोलो रिलिजको मौका पाउँछन् नभए अधिकांश फिल्मको लडाइँ दुईभन्दा बढी फिल्मसँग हुने गरेको छ । यसपटकको पुषमा भने बलिउड फिल्मका लागि नेपाली फिल्म खासै रिलिज भएनन् । 
 
लगातार तीन हप्ता 'जिरो' र 'सिम्बा' ले बक्सअफिस कब्जा गरे । महिनाको अन्तिम हप्ता भने दुई आश गरिएका फिल्म रिलिज भए 'चौका दाउ' र 'भिलेन' । दुबै फिल्ममा दर्शकले पत्याएका कलाकारहरुको अभिनय थियो । तर, कलाकार चलेका भए पनि दर्शकले हलसम्म पुग्ने जाँगर चलाएनन् । अन्ततः दुबै फिल्म बक्सअफिसमा नराम्रोसँग डुबे । 
 
हुनत, फिल्म कलाकारकै कारण चल्ने भन्ने हुँदैन । यदी क्रेज राम्रो भएका कलाकारको फिल्म बक्सअफिसमा चल्ने हुन्थ्यो भने प्रदीप खड्कको 'रोज', आकाश श्रेष्ठको 'ड्रिम गर्ल', साम्राज्ञी आरएल शाहको 'कायरा' र 'तिमीसँग' असफल हुँदैन थिए ।  दुई दिन हलमा दर्शक तान्ने र फिल्मलाई ब्रान्डिङ गर्ने काम मात्र स्टार कलाकार हुँदा हुन्छ । 
 
 
बक्सअफिसमा सफलताको झण्डा गाड्न फिल्म आफैंमा शक्तिशाली हुनुपर्छ । कमजोर फिल्म डुब्छन् नै त्यसमा कुनै सन्देह छैन । राम्रा फिल्मको इनिसियल बक्सअफिस कलेक्सन कमजोर हुनसक्छ तर उच्च 'वर्ड अफ माउथ' ले आइतबार/सोमवारबाट फिल्मले 'पिकअप' लिन थाल्छ । उदाहरणका लागि 'बोबी' लाई हेर्न सकिन्छ । यो फिल्मले प्रदर्शनको चार दिनपछि गति समातेको थियो । 
 
हालै हामीबाट विदा भएको यस वर्षको पुष अन्तिम साता रिलिज भएका दुई नेपाली फिल्म 'चौका दाउ' र 'भिलेन' किन असफल भए ? पुषको जाडोको असरले वा फिल्म नै कमजोर भएर ? यसको जवाफ खोज्न गाह्रो छैन । जाडोको असर धेरथोर परे पनि फिल्म हेरेका दर्शकले दुबै फिल्मलाई रुचाएनन्, जसको असर सिधै बक्सअफिसमा पर्‍यो । 
 
गएको एक दशक अगाडि निखिलका फिल्म भनेपछि दर्शकमा छुट्टै रौनकता थपिन्थ्यो । खडेरी लागेको फिल्मको व्यापार चलायमान हुन्थ्यो । तर, अहिले समय फेरिएको छ । अनमोल र प्रदीपको युगमा निखिलका फिल्म भनेपछि अब दर्शकले नाक खुम्च्याउन थालेका छन् । जसको तात्तातो उदाहरण 'भिलेन' सँगै 'रुद्र' र 'पिंजडा ब्याक अगेन' हो । 
 
पैसामुखी हुँदा उनी फिल्म छनोटमा चुजी हुन नसकेको कतिपयको आरोप पनि छ । 'भिलेन' को व्यापारिक असफलताले निखिलको स्टारडम थप शिथिल भएको प्रमाणित हुन्छ । उनका पछिल्ला फिल्म बक्सअफिसमा असफल हुनुले एउटा सन्देश चाहिँ के दिन्छ भने एक्सन मात्र थुपारेर फिल्म चल्दैन । फिल्मले दर्शकलाई हलसम्म तान्न कथा र प्रस्तुती नै पावरफुल हुनुपर्छ । 
 
फिल्म 'चौका दाउ' डुब्नुमा पनि कथा र प्रस्तुतीलाई नै दोष दिइएको छ । पुणेन्द्रु झा निर्देशित फिल्ममा नाम चलेका पुराना र नयाँ कलाकारहरुको अभिनय थियो । तर, कथाभित्रको कथामा 'होमवर्क' नपुगेको आरोप टिमले खेप्नु पर्‍यो । यो फिल्मबाट सबैभन्दा ठूलो असर अभिनेत्री वर्षा राउतको करिअरलाई पुग्ने देखिन्छ । 
 
यो फिल्म चलेको भए उनको सोलो हिरोइनमा विक्ने रहर पूरा हुने थियो । दुर्भाग्य ! उनको त्यो सपना सपनै रह्यो । समीक्षक र दर्शकले 'चौका दाउ' मा उनको अभिनय र चरित्र रुचाएनन् । समीक्षक गोकर्ण गौतमले फिल्मको समीक्षा गर्दै वर्षाबारे टिप्पणी गरेका छन्, 'यो पाराले बल्लतल्ल बनेको उनको साखमा गिरावट आउनेछ ।' यो फिल्म एक हिन्दी फिल्मबाट प्रभावित थियो । 
 
अन्ततः यस वर्षका लागि पुषले विदा मागिसकेको छ । अहिले माघ महिनाको घाम लाग्न थालेको छ । यो महिनामा पनि दर्शकले आश गरेका फिल्म रिलिज हुँदैछन् । माघभरी 'गरुड पुराण', 'रणवीर', 'गोपी', 'समर लभ', 'सयकडा दश' लगायतका फिल्मको हलमा दबदबा रहनेछ । यी फिल्मको पनि पुष महिनामा रिलिज भएका फिल्मकै जस्तै हविगत चाहिँ नहोस्, शुभकामना । 
Most Visited News (monthly)