हिट फिल्म 'चपली हाइट' को दोस्रो सिरिजबाट नेपाली फिल्ममा उदाएका चकलेटी ब्वाई आयुष्मान देशराज जोशी गएको डेढ वर्षदेखि अभिनेत्रीमा अहिलेकी 'हटकेक' प्रियंका कार्कीसँग डेट गरिरहेका छन् । दुईबीच दुईपटक इन्गेजमेन्ट समेत भइसकेको छ । अब उनीहरु बिहेको तयारीमा छन् ।
'कथा काठमाण्डू' को सेटबाट झाँगिएको माया प्रेमले अहिले उनीहरुको 'प्रोफेसनल लाइफ' लाई समेत चम्काएको छ । दुईलाई लिएर फिल्म बनाउन चाहने निर्माता/निर्देशकहरु बढ्दै गएका छन् । यी दुईले 'कथा काठमाडौं' पछि फिल्म 'चंगा चेट' मा सँगै काम गरेका थिए । पर्दामा पनि यो जोडीलाई दर्शकले निकै रुचाए ।
.jpg)
हालै छायांकन सकिएको योगेश घिमिरे निर्देशित फिल्म 'प्रेम दिवस' मा पनि 'आयांक' जोडीलाई प्रेम-प्रेमिकाको रुपमा देख्न पाइनेछ । दुईलाई अचेल म्यूजिक भिडियोमा समेत भ्याइनभ्याइ छ । उनीहरु फागुन अन्तिमबाट भने बिहेको तयारीमा लाग्ने सोचमा छन् । यसका लागि उनीहरुले अब कुनै फिल्म साइन नगर्ने निर्णय लिएका छन् ।
आफ्नो पाइपलाइनमा रहेका फिल्म फागुन वा चैतभित्र सक्ने प्रियंकाको योजना छ । उता आयुष्मान अर्को हप्ताबाट फिल्म ‘सानो मन’ को छायांकनमा व्यस्त हुँदैछन् । यो फिल्मपछि अब बिहेको तयारीमा लाग्ने उनले बताए । फिल्मको घोषणा सभामा उनले भने, ‘योपछि कुनै फिल्म साइन गरेको छैन । अब बिहेको तयारीमा लाग्नुछ ।’
‘सानो मन’ पनि उनले निकै अगाडि साइन गरेको फिल्म हो । ‘यो फिल्म मैले धेरै अगाडि साइन गरेको थिएँ । यसपछि चाहिँ फिल्म छैन र बिहेभन्दा अगाडि सम्भवतः अब कुनै फिल्म गर्दिनँ । यो फिल्मपछि बिहेको तयारीमा लाग्छु’, उनले भने । अर्को वर्षको असारमा प्रियंकासँग उनी लगनगाँठो कस्दैछन् ।

