अभिनेता अनमोल केसीलाई लिएर फिल्म बनाउन चाहने निर्माता तथा निर्देशकहरु कति होलान् ? यकिन भन्न नसकिए पनि अहिलेका गिनेचुनेका निर्देशकदेखि स्थापित ब्यानरका निर्मातासम्म तयार छन् । उनीसँग टिमअप गर्न चाहने नयाँ फिल्ममेकर्स पनि कम छैनन् । यसको कारण एउटै हो अनमोललाई लिएपछि फिल्म असफल हुँदैन ।
उनलाई प्रत्येक दिन २ भन्दा बढी फिल्मको अफर हुन्छ । अनमोलको पर्सनल बेडरुममा स्क्रिप्टको थाक छ । उनले डिमाण्ड गरेको पारिश्रमिक दिन पनि निर्माताहरु तयार छन् तर उनी भटाभट फिल्म साइन गरेर आफ्नो लोभलाग्दो साख गुमाउन चाहँदैनन् । अहिले अनमोलको साथमा १० वटा स्क्रिप्ट छन्, जुन उनलाई मन परेको छ ।
.jpg)
उक्त दशवटा स्क्रिप्टमा निर्देशक साम्तेन भुटियाको पनि रहेको बताइएको छ । 'तान्द्रो', 'अनागत', 'लेटर' फिल्म निर्देशन गरिसकेका भुटियाले करीब डेढ महिना अगाडि अनमोललाई फिल्म अफर गरेका थिए र स्क्रिप्ट थमाएका थिए । अनमोलले स्क्रिप्ट रुचाए पनि फिल्म साइन भने गरेका छैनन् ।
फिल्मीखबरसँगको फोनर्वार्तामा साम्तेनले अनमोललाई फिल्म अफर गरेको स्वीकार गरे । उनले भने, 'हामीबीच फिल्मलाई लिएर कुरा भएको हो तर गर्ने/नगर्ने तय भएको छैन । म उहाँसँग फिल्म गर्न इच्छुक हुँ अब उहाँको निर्णय के हुन्छ त्यो थाहा छैन ।' उनका अनुसार, अनमोलले स्क्रिप्ट भने चित्त बुझाएका छन् ।
हाल 'ए मेरो हजुर ३' को छायांकनका लागि अमेरिकामा रहेका अनमोल नेपाल आएपछि साम्तेनको फिल्म गर्ने वा नगर्ने भन्ने निर्णय दिने स्रोत बताउँछ । गएको हप्ता मात्र उनले रोल चित्त नबुझेको भन्दै निर्देशक मिलन चाम्सको प्रोजेक्ट 'ब्याचलर बन्टी' छाडेका थिए । अब उनी ६ महिना ब्रेक लिएर फिल्म गर्ने सोचमा छन् ।

