बाजा बजाउनेहरुको कथा आधारित बताइएको कमेडी फिल्म ‘गरुड पुराण’ सेन्सर पास भएको छ । केन्द्रिय चलचित्र जाँच समितिले फिल्मलाई बालबालिकाले आफ्ना अभिभावकको साथमा हेर्न मिल्ने गरि पिजी सर्टिफिकेट प्रदान गरेको छ ।

सेन्सर बोर्डका सदस्यले फिल्मको प्रशंसा गरेको निर्देशक सुवास कोइरालाले जानकारी दिए । माघ ४ गतेबाट एकल प्रदर्शनमा आउन लागेको यस फिल्मले ब्यान्ड बाजा बजाउने एउटा समुह र उनीहरुको परिवारले गरेको संघर्षको रमाइलो कथा उठाएको छ ।
‘फिल्मले दर्शकलाई पूर्ण मनोरञ्जन दिनेमा हामी विश्वस्त छौं’, निर्देशक कोइरालाले भने । यो फिल्मको ‘म त पिरिममा...’ गीत अहिले चर्चामा छ । यस फिल्ममा अभिनेता नाजिर हुसेन ब्यान्ड मास्टरको भूमिकामा छन् ।
यस्तै, कर्मा, लुनिभा तुलाधर, प्रविण खतिवडा, कमल दोवकोटा, सरोज श्रेष्ठ, प्रकाश घिमिरे, रश्मी भट्टसहितको यसमा मुख्य भूमिका छ । यही फिल्मबाट प्रियंका सिंहले नवोदित नायिकाको रुपमा डेब्यु गरेकी छिन् ।
अजित प्रजापति र अशोक गौतमले निर्माण गरेको यो फिल्मको कथा कसम नेपालको, पटकथा बिनोद खतिवडा, अकाश बराल र सुवासको हो । यसको संवाद आकाशले लेखेका हुन् । ‘गरुड पुराण’ लाई सुसन प्रजापतीले खिचेका हुन् ।
ट्रेलर हेर्नुहोस् :-

