
प्रेमजोडी वर्षा राउत र संजोग कोइरालाको विवाहको मिति तय भएको छ । लामो समयदेखि एकअर्कालाई डेट गरिरहेका उनीहरुले सोमवार आफ्नो आधिकारिक फेसबुकमा डिजाइन गरिएको एक कार्डमार्फत् विवाहको मिति घोषणा गरेका छन् । यस वर्षको प्रेम दिवसको दिन अर्थात् फागुन २ गते उनीहरुले लगनगाँठो कस्ने भएका छन् ।
'योभन्दा हामीलाई अत्यन्त खुसी महशुस भइरहेको छ कि हामी जीवनकालसम्मको यात्रा सुरुवात गर्न गइरहेका छौं', विवाहको मिति उल्लेख भएको कार्डमा वर्षा र संजोगले भनेका छन् । लामो समयदेखि यी दुईलाई विवाहको प्रश्नले हैरान बनाइरहेको थियो । अन्ततः यो प्रश्नबाट उनीहरुले अब छुटकारा पाउने भएका छन् ।
अभिनेत्रीमा वर्षा अहिलेकी 'हटकेक' हुन् । उनको नयाँ फिल्म 'गोपी' आउँदो माघ १८ गते रिलिज हुँदैछ भने हाल 'चौका दाउ' प्रदर्शनरत छ । यस्तै, 'दाल भात तरकारी' को भर्खरै छायांकन सकेकी थिइन् । 'नाइँ नभन्नू ल ४' बाट नेपाली रजतपटमा डेब्यु गरेकी उनको नाम अहिलेकी सर्वाधिक व्यस्त अभिनेत्रीको सूचीमा अग्रणी स्थानमा आउँछ ।
.jpg)
संजोग पनि नेपाली फिल्मका अभिनेता हुन् । अभिनय करिअर सुखद नरहेपनि उनी आफ्नो नीजि व्यवसायमा व्यस्त छन् । उनको पछिल्लो रिलिज फिल्म 'कथा काठमाडौं' हो । साथै, 'उत्सव', 'छक्का पञ्जा ३', 'बाजीगर' लगायतका फिल्ममा पनि काम गरेका छन् । वर्षा र संजोगको प्रेमको रथ चल्न थालेको ५ वर्ष बढी भइसकेको छ ।
पाँच वर्षअघि एक फिल्म अडिशनको क्रममा उनीहरुको पहिलो पटक भेट भएको थियो । विवाहको मिति उल्लेख भएको कार्ड दुवैले आ-आफ्नो फेसबुकमा एकसाथ साझेदार गरेका छन् । विवाहको जानकारी दिएसँगै अहिले उनीहरुलाई सहकर्मी तथा चलचित्रकर्मीबाट बधाई तथा शुभकामनाको ओइरो लागेको छ ।
वर्षा राउत र संजोग कोइरालालाई फिल्मीखबर परिवारको तर्फबाट पनि शुभकामना ।

