निर्देशक मिलन चाम्सलाई फिल्म बनाउने मेशिन भन्ने भनिन्छ । चलेका निर्देशक वर्षमा एकभन्दा बढी फिल्म बनाउँदैनन् । चाम्स भने उस्तै परे वर्षमै तीनभन्दा बढी फिल्म पनि निर्देशन गर्न भ्याउँछन् । गत वर्ष र यस वर्ष गरि उनको चार फिल्म प्रदर्शनमा आइसकेका छन् । तर, उनको व्यस्तताले गुणस्तरिय फिल्म दर्शकले पाउन नसकेको गुनासो चौतर्फी सुनिन्छ ।
आँखालाई शित्तल बनाउने फिल्म रुचाउने दर्शकलाई मात्र उनका फिल्मले रिझाएका छन् । 'लजिक' खोज्ने दर्शकलाई उनका फिल्मले पटक्कै आकर्षित गर्न सकेका छैनन् । न त उनका फिल्मले क्रिटिक्सको नै मन जित्न सफल भएका छन् । कथामा मिहनेतभन्दा बाहिरी रंगरोगनमा बढी ध्यान दिने गरेको आरोप उनीमाथि लाग्दै आएको छ ।
एउटा सत्य चाहिँ के हो भने नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउन उनको निकै ठूलो योगदान छ । केही वर्ष अगाडिसम्म नेपाली फिल्मले विदेशमा आफ्नो प्रभुत्व जमाउन सकेका थिएनन् । आफ्नो निर्देशित फिल्म लगेरै भएपनि निर्देशक चाम्सले विदेशी मार्केटमा नेपाली फिल्मका दर्शकको ठूलो वर्ग बनाएका छन् ।
तर, उनका फिल्ममा कथामाथि पर्याप्य 'होमवर्क' पुगेको देखिँदैन । लोकेसन, गीतसंगीत, स्टारकास्ट, छायांकनमा खोट दिने ठाँउ हुँदैन तर उनी निर्देशित फिल्म हेरिरहँदा दर्शकलाई कथाले बाँध्न निकै गाह्रो पर्छ । यो गुनासो उनले नसुनेका होइनन् तर यतातिर उनी गम्भीर देखिएका छैनन्, बरु चमकधमकमै दिमाग खियाइरहेका छन् ।
(1).jpg)
फिल्मको कथामा दम नभए पनि उनी कलाकार भने चलेकै राख्छन् । डेब्यु फिल्म 'हँसिया' मा राजेश हमाल लिए । 'वीरविक्रम' मा दयाहाङ राई, अनुप विक्रमलगायतका कलाकार राखे । प्रदीप खड्का लिएर 'लिलिबिली' बनाए । अहिले उनी 'वीरविक्रम २' मा व्यस्त छन्, जसमा अहिलेका हटकेक पल शाह लिड रोलमा छन् । चलेका कलाकारकै कारण उनका फिल्मको सुरुवाती कलेक्सन राम्रो हुने गरेको छ ।
एकै दिन तीन फिल्मको समेत काम गर्न भ्याउने उनी बेलाबखतमा आफ्नै अभिव्यक्तिका कारण पनि आलोचित बन्ने गरेका छन् । फिल्म 'लिलिबिली' रिलिज लगत्तै अभिनेता प्रदीप खड्कालाई घमण्डीको संघ्या दिएर विवादित बने । हालै उनी आफ्नो फिल्म र आफ्नो बारे भ्रामक हल्ला फैलाउने सबैलाई 'श्राप दिन्छु' भन्दै कड्किएपछि आलोचनाको पात्र बनेका छन् ।
फिल्ममेकर्स भएपछि आलोचना-समालोचना, चर्चा-परिचर्चा, सत्य वा झुट सबै कुरासँग 'फेस' गर्ने सामर्थ हुनुपर्छ । तर, आफ्नो बारे झुट हल्ला फिजाउने व्यक्ति र गलत समाचार प्रकाशित गर्ने पत्रकारलाई श्राप दिने बताएपछि चाम्सको जमेरै विरोध भैरहेको छ । 'वीरविक्रम २' को गीत रिलिज कार्यक्रममा श्राप दिने पटक-पटक भनेपछि अहिले उनी अभिनेता आकाश श्रेष्ठका फ्यानको निशानामा समेत परेका छन् ।
केही न्यूज पोर्टल र युट्युबमा 'आकाशलाई पनि श्राप दिन्छु' जस्ता शिर्षक आएपछि आकाशका फ्यानले निर्देशक चाम्सलाई अश्लिल गाली र धम्की दिइरहेका छन् । चलचित्रकर्मीहरुले पनि उनीजस्ता निर्देशकले 'श्राप दिन्छु' भन्दै कड्किनुलाई गलत भनेका छन् । तर, यस विषयमा उनले कुनै जवाफ फर्काएका छैनन् । उनी मौन छन् । यस विषयमा थप बोलेर 'बलेको आगोमा घिउ थप्न' चाहेको देखिँदैनन् उनी ।
उनले करीब ४ महिना अगाडि अभिनेता अनमोल केसीलाई ४५ लाखमा फिल्म 'ब्याचलर बन्टी' मा अनुबन्ध गरेका थिए । तर, यसको केही महिनामै उक्त फिल्म नबन्ने चर्चा सुरु भएको थियो । यस विषयमा उनी लामै समय चुप बसे । फिल्म 'वीरविक्रम २' को गीत रिलिज कार्यक्रममा उनले 'ब्याचलर बन्टी' नबन्ने विषयमा हल्ला फैलाउने र गलत समाचार प्रकाशित गर्नेलाई 'श्राप दिन्छु' भन्दै जंगिए ।
फलतः बजारको हल्ला सत्य साबित भयो । उनी 'श्राप दिन्छु' भन्दै उग्र भएको तीन दिनमा अनमोलले रोल चित्त नबुझेको भन्दै फिल्मबाट बाई-बाई गरे । अहिले धेरैले उनलाई आफूले दिएको श्राप आफैंलाई लागेको बताउन थालेका छन् । रोचक कुरा त अनमोलले फिल्म छाडेको बताए पनि निर्देशक चाम्सले यस विषयमा अहिलेसम्म मुख खोलेका छैनन् ।
उनको मौनताको पछाडि के कारण छन् ? त्यो त उनी स्वयं जान्छन् तर चाम्स मौन बस्नुको पछाडि केही ठूलो कारण हुनसक्ने आँकलन गरिएको छ । स्रोतका अनुसार, उनी केही दिनमा 'ब्याचलर बन्टी' मा नयाँ हिरो अनुबन्ध गरेर पत्रकार सम्मेलन गर्ने तयारीमा रहेका छन् । त्यसबेला उनले आफूमाथि लागेको आरोपको पनि खण्डन गर्लान् कि ! आशा गरौं ।

