करीब डेढ वर्ष अगाडि चर्चित हास्यटेलिसिरियल ‘भद्रगोल’ टिमले निर्माण गर्ने भनिएको फिल्म ‘फनफनी’ लाई ‘लुट’ फेम्ड निर्देशक निश्चल बस्नेतले निर्देशन गर्ने फाइनल भएको थियो । उनले फिल्म साइन गर्दा १० लाख 'साइनिङ एमाउन्ट' समेत बुझेका थिए । २५ लाख पारिश्रमिकमा उनी फिल्म निर्देशन राजी भएका थिए ।
अब यो फिल्मबाट उनले हात झिकेका छन् । स्रोतका अनुसार, निश्चलले ‘भद्रगोल’ टिमलाई आफ्नो पारिश्रमिक फिर्ता गरिसकेका छन् । कथामा चित्त नबुझेपछि निर्देशक निश्चलले फिल्म नगर्ने निर्णय लिएका हुन् । फिल्मको कथा ‘भद्रगोल’ का कुमार कट्टेल र अर्जुन घिमिरेले तयार पारेका थिए र निश्चलले 'करेक्सन' गर्ने जिम्मा पाएका थिए ।

तर, जति 'करेक्सन' गरेपनि उनले कथा रुचाएनन् । साथै, यो फिल्ममा १७ लाख पारिश्रमिकमा अभिनेता विपिन कार्की लिड रोलमा अनुबन्ध भएका थिए । उनले पनि फिल्मबाट हात झिकेका छन् । उनले फिल्म साइन गर्दा लिएको पारिश्रमिक ‘भद्रगोल’ टिमलाई बुझाइसकेको स्रोतले बतायो । खबरअनुसार, विपिनले पनि कथा चित्त नबुझेपछि छाडेका हुन् ।
निर्देशक र अभिनेताले फिल्म छाडेपछि ‘भद्रगोल’ टिम अब टेलिसिरियलकै कलाकारलाई लिएर फिल्म बनाउने तयारीमा जुटेको छ । खबरअनुसार, अब उक्त फिल्मलाई ‘भद्रगोल’ का कलाकार तथा श्रृंखला निर्देशक दीपक आचार्यले निर्देशन गर्न सक्नेछन् । निर्माण टिमले यस विषयमा औपचारिक जानकारी भने दिएको छैन ।
‘भद्रगोल’ टिमले दीपकराज गिरी र दीपाश्री निरौलाको टिमसँग मिलेर फिल्म बनाउने चर्चा पनि सिनेवृतमा चलेको थियो । फिल्मीखबरसँगको कुराकानीमा दीपकराज स्वयंले भद्र सहमती भएपनि सम्झौता नभएको बताएका थिए । अन्ततः दीपक-दीपासँग पनि ‘भद्रगोल’ टिमको सहकार्य नहुने भएको छ । दीपक-दीपासँग सहकार्य टुट्नुको कारण भने खुल्न सकेको छैन ।
अब ‘भद्रगोल’ टिम यसै वर्षबाट ‘फनफनी’ को छायांकन सुरु गर्ने तयारीमा जुटेको छ । फिल्ममा ‘भद्रगोल’ का कलाकारहरुको बाहुल्यता रहने भएता पनि एक नायक र एक नायिका भने नयाँ हुने बताइएको छ । अहिले फिल्मको स्क्रिप्टलाई अन्तिम रुप दिने काम भइरहेको स्रोत बताउँछ ।

