Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘परदेशी २’ बन्ने, दोहोरिएलान् प्रशान्त ?

फिल्मीखबर, काठमाडौं, 2019/01/13
बक्सअफिसमा सफल भएका फिल्मको सिक्वेल निर्माण हुने क्रम ह्वात्तै बढेको छ । तर, फिल्म ‘नाई नभन्नु ल’ र ‘छक्का पञ्जा’ को सिक्वेललाई छोड्ने हो भने नेपालमा कुनै पनि फिल्मको सिक्वेलको इतिहास राम्रो छैन । अधिकांश फिल्मको सिक्वेल ब्याज खाने हिसाबले मात्र बनेका छन् दर्शक सन्तुष्ट बनाउने तागत कुनैमा देखिएको छैन । 
 
यस्तैमा फेरि एक सुपरहिट फिल्मको सिक्वेल निर्माण हुने भएको छ । चर्चित निर्देशक नारायण रायमाझीले २०७२ सालमा प्रदर्शनमा आएको बल्कबस्टर फिल्म ‘परदेशी’ को दोस्रो पार्ट निर्माण गर्ने भएका छन् । अहिले उनी फिल्मको कथामा काम गरिरहेका छन् । फागुनबाट फ्लोरमा जाने तयारी छ । 
 
 
फिल्मीखबरसँग कुराकानी गर्दै उनले भने, 'अहिले कथामा काम भइरहेको छ । तर, कलाकारहरु फाइनल भने गरिसकेका छैनौं । केही दिनमा कलाकार छनोट प्रक्रियामा लाग्छौं ।' ‘परदेशी’ मा 'इण्डियन आइडल' प्रशान्त तामाङ प्रमुख भूमिकामा थिए । सिक्वेलमा प्रशान्त दोहोरिने वा नदोहोरिने फाइनल नभइसकेको निर्देशक रायमाझी बताउँछन् ।
 
‘परदेशी’ भन्दा अगाडि प्रशान्तलाई लिएर रायमाझीले ‘गोर्खा पल्टन’ बनाएका थिए, जुन बक्सअफिसमा सुपरहिट साबित भएको थियो । दुई पटकको सहकार्य फलिफाप भएका कारण उनी ‘परदेशी २’ मा पनि प्रशान्तलाई दोहोर्‍याउने सोचमा छन् । केही फिल्ममा काम गरेपनि ‘परदेशी’ पछि प्रशान्त काँचको पर्दाबाट टाढा छन् । 
 
रायमाझीले प्रशान्तसँग ‘परदेशी २’ को विषयमा केही पटक छलफल गरेको बताइएको छ । अहिले फिल्मको स्क्रिप्टसँगै गीत रेकर्डिङको काम पनि भइरहेको छ । अर्को वर्षको दशैंमा फिल्म रिलिज गर्ने तयारी निर्माण टिमको छ । फिल्म ‘परदेशी’ ले बैदेशिक रोजगारीमा जाने युवाको कथा वाचन गरेको थियो । 
 
‘परदेशी’ को लाइफटाइम कलेक्सन करीब ७ करोड रहेको जानकारीमा छ । यो फिल्मको गम्भीर कथावस्तुलाई दर्शकले अत्याधिक रुचाएका थिए । फिल्ममा समावेश गीतसंगीत अझै लोकप्रिय छन् । फिल्ममा प्रशान्तका अलावा रजनी केसी, नरेन खड्का, केशव भट्टराईलगायतका कलाकारहरुको अभिनय थियो । 
Most Visited News (monthly)